पाथीभरा देवी कसरी र किन पुग्ने ?

  • प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६
  • Tourism Sanchar

दीपेश बराल/काठमाडौं, मङ्सिर १८। नेपाल प्राकृतिक सम्पदाको धनी मात्र छैैन यँहा त विभिन्न देवी देवताको निवास स्थान रहेका अनेकौ मठ, मन्दिर, धाम, तीर्थस्थलहरुले पनि उतिकै भरिपूर्ण धार्मिक वातावरण छ । यस्ता अनेकौ तीर्थस्थलहरु मध्ये नेपालमा धेरै नाम चलेको र अत्यन्तै शक्तिशाली वरदायिनी, भक्तको मनोकामना सहजै सिद्ध गरिदिने भनेर सारै चर्चित हुनु भएकी पाथिभरा देवी भगवतीको बारेमा जान्ने र पाठकसम्म पुर्याउने हाम्रोपनि इच्छा थियो ।

भगवतीको निवास रहेको मानिने पूर्व मेची अञ्चल ताप्लेजुङ्ग जिल्लामा अवस्थित पाथिभरा तीर्थस्थल प्रति नेपाल भरीका मात्र होइन भारतको सिक्किम, आसाम, पश्चिम वंगाल र विहार हुँदै भुटान, बार्मा लगायत विश्वका धेरै हिन्दु धर्मालम्बी भएको देशहरुबाट दर्शनार्थीहरु वर्षेनी आउने क्रम बढिरहेको छ । यसै प्रसंगमा अहिले सम्म त्यँहा नपुग्नु भएका र उक्त स्थान भन्दा धेरै टाडा रहनु हुने तर पाथिभरा देवीको दर्शन भ्रमण गर्ने चाहाना मनभरी वोकेर वस्नु भएकाहरुलाई सहज र सरल ढंगको यात्रा र जानकारी प्रस्तुत गर्नु नै आजको कोशिस हो ।

हामी के कुरामा झुक्किनु हुदैन भने मेची अञ्चलमै पाथिभरा देवीका ३ ओटा तीर्थस्थलहरु रहेका छन । पहिलो त जेठी अथवा सवैभन्दा ठूली मानिने ताप्लेजुङ्ग जिल्लामा अवस्थित पाथिभरा माताको पौराणिक धाम, दोस्रो हो २०५० साल भन्दा केही वर्ष अघि पहिचान गरी संस्थागत विकास थालिएको मेची अञ्चल कै इलाम जिल्लामा अवस्थित ताप्लेजुङ्ग पाथिभराकी वहिनीको रुपमा चर्चित इलाम कन्याम पर्यटकीय क्षेत्र निकट कुटीडाडामा अवस्थित पाथिभरा धाम र तेस्रो केही वर्ष अघि पहिचान भएकी मेची अञ्चल कै झापा जिल्लाको चारआली वजार वाट थोरै पश्चिम जंगलमय स्थानमा अवस्थित पाथिभरा तीर्थस्थल जुन ठाउलाई भक्तहरु पाउ पाथिभरा देवीको नामले समेत पुकार्ने गर्दछन र त्यँहा पूजा पनि पाथिभरा देवीको पाउको प्रतिमा कै गर्ने गरेको पाइन्छ । यसरी ताप्लेजुङ्ग पाथिभरा, इलाम पाथिभरा र झापाको पाउ पाथिभरा गरी ३ ओटा पाथिभरा तीर्थस्थल छन ।

पाथीभरा देवीको मन्दिर ताप्लेजुङस्थित विशिष्ट महत्व बोकेको धार्मिक गन्तव्य हो । समुद्री सतहबाट ३,७९४ मिटरको उँचाइमा रहेको पाथीभरा माताको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बाह्रै मास चिसो हावापानी हुने यो पहाडी थुम्को अन्न भरिएको पाथी जस्तै देखिने भएकाले पाथीभरा नाम राखिएको हो । पाथीभरा देवीलाई लिम्बू समुदायले ‘मुक्कुमलुङ युमा’ नामले पुकार्छन् ।

पाथीभरा क्षेत्र हिमाली दृश्यावलोकनका लागि पनि उपयुक्त छ । मन्दिर क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालका साथै साउथ कञ्चनजंघा, यालुङखाङ, मकालु, कुम्भकर्ण लगायतका हिमाल देख्न सकिन्छ ।

पाथिभरा मन्दिर परिशरवाट मौसम खुल्ला हुदा निम्न हिमालहरुको सुन्दरता संगै हराउन सकिन्छ ।

कञ्चनजंघा : सेवालुङ ८५८६ मि।
कञ्चनजंघा : ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
काङबाचेन : ७९०३ मि.
कञ्चनजंघा ९(क्) ८४७६ मि., मकालु ८४६३ मि.
लोत्से : ८५१६ मि., नोत्से : ७८५५ मि.
कसरी पुग्ने ?

काठमाडौंदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म दैनिक रात्रि बस चल्छ । करीब २० घण्टाको यात्रापछि फुङलिङ पुगिन्छ । हवाई यात्राबाट जाने हो भने काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नेपाल वायुसेवाको उडान हुन्छ ।

ताप्लेजुङ्ग पाथिभराको दर्शन गर्न जादा हवाइ यात्राको कुरा सोेच्नु भयो भने नजिकै सम्म पुग्ने हवाइ स्थल ताप्लेजुङ्गको सदरमुकाम निकट रहेको सुकेटार विमान स्थल हो जहाँ अहिलेपनि उडान भर्न सक्नुहुनेछ । तपाई त्यहाँ विराटनगरवाट सिधै आकाशमार्ग प्रयोग गर्न सकिन्छ । साथै खर्चको कुरालाई वेवास्ता गर्ने हो भने उक्त विमान स्थल सम्म सामुहिक वा पारिवारिक रुपमा चार्टर गरी हेलिकप्टरको सहायताले पनि जान सकिन्छ ।

फुङलिङ र सुकेटारबाट जीप मार्फत करीब दुई घण्टामा तल्लो फेदी र त्यहाँबाट सीधै उकालो करीब पाँच घण्टा हिंडेपछि पाथीभरा मन्दिर आउँछ ।

मन्दिर परिसरमा तीर्थालुलाई बासको सुविधा छैन । मन्दिरदेखि साढे एक घण्टाको दूरीमा रहेको फेदी र देउरालीमा भने खाने र बास बस्ने होटल, लज उपलब्ध छन् ।

साथमा के-के लिएर जाने त ?

प्रतिव्यक्ति १.१ वोटा छाता वा रेनकोट अवश्य वोक्नुहो किनकी त्यहाको मौसम एकेै छिनमा परिवर्तन हुने र वर्षाद हुने वा कोही वेला त हिउ पर्ने पनि हुन सक्छ ।
आफूले इच्छाए अनुसारको पूजा सामाग्री धुप, वाती, फूल, अक्षता, अविर, नरिवल, फलफूल, मिठाइ, श्रृङ्गारका सामाग्री, भेटी र सलाई आदी ।
टेक्ने लठी : प्रतिव्यक्ति १.१
लेक लाग्छकी भनेर वोकिने भुटेको मकै अथवा सातु
पानीको वोतलहरु
भोकै पुग्न सकिन्न की भन्ने लाग्छ भने सामान्य खाजा चाउचाउ, विस्कुट, चिउरा, मुरई, वलगम, दालभुट भूजिया, चिप्स वा कुनै आफूले रुचाएका
सक्तिदायक पेय पदार्थ, जुसहरु आदी
जुत्ता चप्पल पाहाड हिड्न लायक छन छैनन् अवश्य ध्यान दिनुहोला हिल भएका अग्ला र सोल चिल्लो भएका जुत्ता चप्पल नलगाउनु होला ।

मनोकामना पुरा हुने

पाथिभरा मातामा स्वच्छ, पवित्र भावना लिएर पूजा पाठ गरेमा आफुले मागेको कुरा भगवतीले पुरा गरि दिने जनविश्वास रातो दिन वढी रहेछ । पाथिभरा जाने अधिकाँश मानिसले पाथिभरामा मागेको वरदानको कारण आफू सफल भएको वा संकटमुक्त भएको भनेर सुनाउने गर्दछन ।

भोग दिएको रगतको रहस्य

अर्को चकित हुने कुरा त के छ भने त्यहाँ देवीलाई बलि (भोग) चढाईन्छ । हज्जारौ पशु–पन्छि काटिएका हुन्छन् । तर त्यहाँ पशुपन्छि काटेको टाँउमा तपाईले कुनै रगतको कत्ला समेत देख्न सक्नुहुन्न । छिन्नासाथ माथि रगत देखिन्छ । जमिनमा पर्ना साथ मिलाउँछ ।

भेटी पैसाको रहस्य

पाथिभरा मन्दिर जादाखेरी वाटो देखि नै अनेकन देव मूर्तिहरुमा यत्रतत्र धातु र कागतका पैसा भेटी अनगिन्ति भक्तले चडाएका देखिन्छ । अन्यत्र जस्तो त्याहाको भेटी हराउने चोरिने हुदैन । साथै मूल मन्दिरमा पनि चढाइएका पैसा भेटीको वग्रेल्ती जताततै देखिन्छ । अचेल व्यवस्थापन समिति वनेको र त्यहा पूजारीहरु पनि राखिएको कारण सो पैसा भेटी संकलन गरेर हिसाव पारदर्शी पूर्ण तरिकाले त्यहीको विकासमा खर्च गरिने गरिएको पाइन्छ । तर पहिला पहिला चै सो भेटी कति कागतका पैसा त घाम पानीले सडेर जान्थ्यो तर कसैले नचलाउने प्रथा थियो रे पछि पछि माता संग मागेर ऋण ल्याएर वन्द व्यपार गर्दा धेरै वढेर जान जन विश्वासमा त्यसै गर्न थालियो र त्यही कारणले आफू संम्पन्न भएको कुरा सुनाउने मान्छे पनि कम छैनन मेची अञ्चलमा । अझै पनि मन्दिरको भेटीको पैसा साटेर ल्याउने वा ऋण ल्याउने र पूजा गर्ने वा व्यपारमा लाउने चलन प्राय व्याप्त छ भक्तहरुमा । त्याहाको भेटी चडाएका धातुका सिक्का सयौ क्वीन्टल हुने गरेको र त्यो राष्ट्र वैकमा साट्ने गरिन्छ ।

( विभिन्न पुस्तक, अनलाईन, गुगल, कथन, भनाई र यात्रा अनुभवको समिश्रण । )

https://www.sajhadabali.com/2019/11/8310/