गढीमाई मेला दर्शन गरी फर्कँदै गरेको जिप दुर्घटना

  • प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६
  • Tourism Sanchar

काठमाडाैं, मङ्सिर १८। महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो । गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।