लालबन्दीदेखि निजगढसम्म ७० किलोमिटर रेलमार्ग बनाइने ३ बर्षभित्र बनाइने

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६
  • Tourism Sanchar

काठमाडौं,कात्तिक २४ । आगामी तीनबर्षभित्र बाराको निजगढसम्म ७० किलोमिटर रेलमार्ग ट्रयाकबेड निर्माण सम्पन्न गर्ने लक्ष्य रेल विभागले लिएको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको पूर्व—पश्चिम रेलमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्म उक्त रेलमार्ग तयार गर्ने लक्ष्यअनुसार खरिद प्रक्रिया अघि बढाएको हो ।

अहिले बर्दिबासदेखि लालबन्दी खण्डमा झन्डै ३५ किलोमिटर रेलमार्गको ट्रयाकबेड निर्माण सम्पन्न भइसकेको छ । बाँकी ७० किलोमिटर रेलमार्गका लागि टेन्डर भइ निर्माण अघि बढाइने लक्ष्य रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले चालू आर्थिक बष २०७६/०७७ मा ७/८ किलोमिटर रेलमार्ग मात्रै निर्माण हुने र त्यसपछि दुइबर्षमा टेन्डर गरिएको सवै रेलमार्ग पूरा गरिने बताए ।

पूर्व—पश्चिम रेलमार्गको निकुन्ज भएर जाने निजगढ देखि बुटवल सम्मको खण्डमा रुट परिवर्तन गर्नुपर्ने देखिएपछि त्यस्को विस्तृत डिजाइन(डीपीआर) मा ढिलाइ भएको हो । पर्सा बन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुन्ज भएर जाने रुट परिवर्तन गरी अहिले (निजगढ—भरतपुर—बुटवल) हुने गरी डिजाइन तथा अध्ययन भइरहेको विभागले जनाएको छ । यो बाहेक पूर्व—पश्चिम रेलमार्ग अन्र्तगत सवै खण्डको डीपीआर तयार भएको छ ।

९ सय ४५ किलोमिटर रेलमार्गअन्र्तगत विभिन्न ९ खण्डमा वर्गीकरण गरि डीपीआर बनाइएको छ । बुटवलदेखि पश्चिम गड्डाचौकिसम्म ४ खण्डमा डीपीआर र डिजाइन अध्ययन भइसकेको छ ।