चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बादलको निर्देशन

  • प्रकाशित मिति : आइतवार, अशोज ५, २०७६
  • Tourism Sanchar

काठमाडौं, असोज ५। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दशैतिहार जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

गृहमन्त्री बादलले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्याधिक हुने भएकोले सोहीअनुरुपको सुरक्षा रणनीति बनाउन सुझाब दिए । यस्तै सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्न समेत निर्देशन दिए ।

गृहमन्त्रीले सुरक्षामा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए । बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए ।