पर्यटन बर्ष पर्खदै लब्रेकुटी–सिलौटी

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६
  • Tourism Sanchar

पाँचथर, भदौ १९। कुहिरोले पौवाभञ्याङलाई ढपक्कै ढाकेको थियो । मेची राजमार्गमा कुहिरोबीच गाडी दौडिँदै थिए, मानौं त्यहाँ दौड प्रतियोगिता भैरहेको थियो । असोजदेखि आँखै सामुन्ने हिमाल देखिने बजारमा कुहिरोले नजिकैका साथी नचिन्ने अवस्था बनाइदियो । साउन अन्तिम साता कुहिरोभित्र कफीको फिँज सिनित्त पारेपछि हामी बजारबाट उकालियौं ।

मस्त हरियाली । भुइँकुहिरोको साम्राज्य । हामी सिलौटीडाँडातर्फ उकालियौं । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमिमा पदयात्रा गर्ने हाम्रो योजना । लालीर्खक–बतासे सामुदायिक होमस्टेका सचिव चन्द्र योङ्याले यात्राको व्यवस्थापन मिलाए ।

हामी ६ जना उकालो चढ्यौं । सिलौटीको फेदमा पुग्दा विभिन्न प्रजातिका फूलले स्वागत गरे । सुनसान । सल्लोको वन । फराकिला चउर । सिजन अनुसार फरकफरक विशेषता भेटिन्छ त्यहाँ । हिँउदमा हिमाल खुल्ने, सिजनमा गुराँस फूल्ने । बर्खामा चाहिँ हरियाली ।
‘यात्रा रहेछ जिन्दगी’ साहित्यकार सगुन सुसाराले गीत सुनाए । सल्लाका पातले संंगीत भ¥यो । दिन बढ्दै जाँदा मौसम खुल्ने क्रम पनि थियो ।

सिलौटीमा रहेको महागुरु फाल्गुनन्दको समाधिस्थल पुग्दा मौसमले साथ दियो । पौवादेखि आधा घन्टा हिँडेर हामी त्यहाँ पुग्यौं । आस्थाले शिर झुक्यो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा फाल्गुनन्दको निधन भएको थियो । डाँडामा उनको समाधिस्थल छ । समाधिस्थल छेउमै सिँढी मार्ग बनाइएको छ । प्राकृतिक डाँडामा कंक्रिट प्रयोग गरेर किन सिँढी बनाइएको होला ? प्राकृतिक रूपमै सिँढीजस्तो देखिएको ठाउँमा कंक्रिटको सिँढी बनाइयो ।

त्यसोत यो क्षेत्रको विकासका नाममा १ करोड रुपैयाँ भन्दा बढी रकम खर्चेर खेल मैदान बनाएको पनि भेट्यौँ । आर्कषक पहाड यसरी खोलिएको विषयमा हाम्रो सामूहिक असन्तुष्टि थियो ।
सिलौटीमा महागुरूले ध्यान गरेको ठाउँमा पुगेर सुस्तायौँ । फाल्गुनन्दले प्रयोग गरेका समाग्री यहाँ सुरक्षित छन् ।

यो ठाँउ एकान्त प्रियलाई उत्तम छ । ध्यान र योगका लागि पनि उपयोगी । पुजारी नायेमहाङ नेम्बाङ पूजा गरिरहेका थिए । पुजा सकेर उनले सिलौटीको महत्व सुनाए । फाल्गुनन्दको आश्रम, धुनि, मन्दिर तथा अन्य शक्ति पिठ भएको उनले सुनाए । त्यहाँ धार्मिक वातावरण छ ।

हामीले डाँडाबाट टाढाटाढाका दृष्य देख्यौँ । प्राकृतिक रूपमा अत्यन्त सुन्दर भएकाले पनि रमाउन सजिलो भयो । लाग्थ्यो विभिन्न प्रजातिका फूलले हामीलाई स्वागत गर्दैछन् । रैथाने फूलहरू भए पनि नाम नजान्नुको बिडम्बना भोग्यौं । मौसम खुल्दा आकास नजिकै देख्यौ । यहि बेला सगुन दाइ प्रेमिल देखिए । एकान्त र आनन्दको मौसममा ।

एकछिनपछि हामी ओरालियौं । मकैका भर्खर सुत्ला लाग्दै थिए । लेकमा कार्तिकमा मात्र मकै पाक्छ । हामी हिँडेको ओरालोमा मृग र खरायो भेटिए । चराचुरुङगीको आवाज उस्तै । वनस्पती अनेक थिए, कतिपयको नाम जानेनौ हामीले । मौसम खुलेकाले हामीलाई गीत गाउँदै ओरालिनुको मजा लियौं ।

देउराली भन्ने ठाउँमा पुग्दा किसान धमाधम आलु खनिरहेका थिए । फराकिलो गरामा लामबद्ध भएर आलु खनिरहेका देखिन्थे । कोही झक (आलु राख्ने चोयाले बुनिएको भाँडो) बोरामा खन्याउँदै थिए । अर्कोतर्फ ड्याङ ड्याङ बनाएर रोपिएका मुला फस्टाएका देखिन्थे । लेकको मुख्य खेती आलु ।

ग्रामीण खेती प्रणालीको नमुना भेटियो त्यहाँ । फराकिलो चौर जस्तै देखिने बारीका गरा, थुम्किला पहाडले भरिएको ठाउँ आकर्षक देखिन्थ्यो । एकछिन त्यहाँ सुस्तायौँ । क्षितिजमा आँखा डुलाएर रमायौं । ओरालोमा पात बेरेर बजाउँदै हिँड्नुको मजा छुट्टै । दुतिया भन्ने ठाउँमा पुग्दा सामान्य चहलपहल थियो । दुतियामा अचेल महिनाको दुई दिन मेला लाग्छ ।

हामी दलकर्णे भञ्याङ पुग्दा चहलपहल निकै थियो । हाम्रो अर्को गन्तव्य लोब्रेकुटी जाने बाटोमा यो ठाउँ पर्छ । लोब्रेकुटी जाँदै गरेका र फर्कंदै गरेका तन्नेरी पनि भेट्यौं । प्रेमिल जोडीहरू लोभलाग्दा देखिन्थे । लोब्रेकुटीमा हामीलाई सल्लोका पातबाट बगेको शीतल हावाले स्वागत ग¥यो । मौसमको कति मिठो मादकता ! लोब्रेकुटीमा फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते तत्कालीन १० लिम्बुवान् १७ थुमका किरात भेला गरेर सत्यधर्म मुचुल्का गराए ।

मुचुल्कामा उतिबेलै फाल्गुनन्दले छोरा र छोरीलाइ विभेद गर्न नहुने बुँदा समेटेका थिए । उनले समाज सुधारका विषय समेटेका थिए । मुचुल्कामा छोरीचेलीको सोत रीत खान नहुने, ईश्वरका नाममा बलि पूजा गर्न नहुने, किरातको धार्मिक संस्कारमा एकरूपता ल्याउनु पर्ने, मर्दापर्दा मासुको पिण्ड चढाउन नहुने, आफ्नै भाषा लिपिमा अध्ययन गरी लिपि जगेर्ना गर्ने जस्ता विषय थिए ।

किरात धर्म दर्शनका पुनरुत्थानकर्ता, समाजसुधारक, मुन्धुमको संरक्षणकर्ताका रुपमा फाल्गुनन्दलाई लिइन्छ । उनको अर्को कर्मभूमिका रूपमा लोब्रेकुटी छ । यहाँ फाल्गुनन्दले समाज सुधारका लागि विभिन्न प्रयास गरेका थिए ।

फाल्गुनन्दले तपस्या गरेको तथा प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा पुग्दा हामी पनि रमायौं । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका–२ चुक्चीनाम्बामा जन्मेका थिए । सरकारले २०६६ मंसिर १६ गते उनलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको थियो ।

हामीले मन्दिर क्षेत्रमा पुगेर घन्टी बजायौं । त्यहाँ म्युजिक भिडियो सुटिङ भइरहेको रहेछ । पहाडका घुर्मिला डाँडा, मनोरम प्राकृतिक दृष्य । मनसुन हिमाल टल्कने सिजन हैन तर हरियाली मस्तसँग खुलेको । फराकिला डाँडाले मन लोभ्यायो । यहाँ मन्दिरका साथै अन्य धार्मिक अनुष्ठान छन् ।

त्यहीँ भेटिए पूजारी धु्रव तुम्बापो । लेकाली आलु, टिम्बुर तथा चिम्फिङ र चिया खुवाए तिनले । निकै स्वादिलो । उनीसँग पर्यटन विकासका कुरा भए । प्राकृतिक सम्पदा भत्काएर नयाँ संरचना बनाउन नहुनेमा हामी एकमत भयौं । अलिकबेरमा पानी प¥यो तर रुझ्नुको मजा बेग्लै थियो ।

हामी डाँडैडाँडा ओरालियौं । कहिले कुहिरोले छोप्थ्यो त कहिले मौसम खुल्थ्यो । साँझपख लालीखर्कमा पुग्यौं । त्यहाँ लालीखर्क–बतासे सामुदायिक होमस्टे विकास गरिएको छ । होमस्टेमा पोलेको मकै, पोलेको आलु, काँक्रो र ग्रिन टिको स्वाद लियौँ ।

सिलौटी लोब्रेकुटीसँग पाथिभरा, तिम्बु पोखरी जाने पर्यटकलाई बसाउने योजनासहित होमस्टे सुरु गरिएको रहेछ । दश घरमा होमस्टे सुविधा छ । संस्कृतिको प्रवद्र्धन, आलु, आर्ग्निक चिया, टिम्बुर अचार सहित खानपानमा जोड दिइएको छ । साना तर चिटिक्क घरमा होमस्टे गराइन्छ ।

हाइकिङका लागि पौवाभौञ्याङ, सिलौटी, लोब्रेकुटी, लालिखर्क पदयात्रा उपयुक्त ठाउँ हो । गर्मीमा शीतल हुने, ग्रामीण जनजीवन, खेतीप्रणाली तथा आर्कषक डाँडा भएको फराकिलो क्षेत्र भएकाले पर्यटकले रुचाउने अपेक्षा राखिएको संस्थाका सचिव चन्द्र योङ्या बताउँछन् । होमस्टे पाहुनाको स्वागतमा तम्तयार छ । प्रकृति, संस्कृति र स्थानीय एकसाथ डाक्दैछन् । तपाइँ पनि आउनुस् है फाल्गुनन्दको तपोभूमिमा ।