नयाँ व्यवसाय सुरु गर्न तथा स्थापितका निम्ति पोखरामा उद्यम उत्सव

पोखरा, असार २३ । हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै आज पोखरामा उद्यम उत्सव मनाइएको छ ।

कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु गर्न तथा स्थापित व्यवसायमा आइपरेका समस्या सुझल्झाउन प्राप्त सहजीकरण सहयोग र सफलताका कथा सुनाएका थिए । उद्यम सहजीकरणसँगै व्यवसायिक दक्षता अभिबृद्धि र त्यसले व्यवसाय प्रति अझै लगाव बढाउने गरेका अनुभव उक्त अवसरमा सुनाइयो ।

कास्कीको भरतपोखरीकी कृषक जितु पुनमा व्यवसायिकताको इच्छा त थियो नै तर के गर्ने, कसरी गर्ने कुनै मेसोमेलो भने थिएन । अन्यौलताकै बीचमा उद्यमशिलताका क्षेत्रमा कृयाशिल संस्था हेफर इन्टरनेशनलको उद्यम सहजीकरण सहयोगसँगै आँफूले यतिखेर व्यवसायिक भैसीपालन सुरु गरेको पुनले बताइन् ।

“के गर्नु व्यवसायिक भैसी पालनको इच्छा त थियो, तर त्यसको बजारीकरण, वित्तीय व्यवस्थापन जस्ता कुरामा कुनै अनुभव थिएन,” उनले भनिन्, “उद्यम सहजीकरणका लागि सहयोग पाइए सँगै यतिखेर दुईवटा उन्नत जातका भैंसी पाली त्यसको दुध बजारमा पु¥याएर राम्रै आम्दानी गरेकी छु ।” दैनिक ४८ लिटर दुध उत्पादन गर्दै आएकी पुनले यतिखेर सबै खर्च कटाएर मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् ।

उद्यम सहजकर्ता सन्तोष थापाले आँफूहरूले उद्यमीलाई कुनै आर्थिक सहयोग नभै उद्यमशिलताका लागि उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन सम्बन्धमा सहजीकरण गर्ने गरेको बताए । “व्यवसायिकताको विकासमा उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन तीनवटै कुराले छुट्टाछुट्टै महत्व राख्दछ,” उनले भने, “यी तीनवटै कुरामा प्रतिवद्ध भई आउने जो कोही व्यक्ति वा संस्थाका लागि हामीले सहजीकरण गर्ने गरेका छौं ।”