त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि २१ घन्टा सञ्चालनमा

काठमाडौं ,असार १७ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनापछि पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । धावनमार्गमा नयाँ कालोपत्रे बिच्छ्याउनका निमित्त चैत १८ देखि राति १० बजेबाटै बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको हो ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेलाई विस्थापन गरिएको हो । धावनमार्ग स्तरोन्नति भएसँगै विमानस्थल सोमबारबाट २१ घण्टा (बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म) सञ्चालनमा आएको छ । सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो ।

धावनमार्गको पिच पुरानो भएकाले उडान अवतरणमा पिच उप्किने समस्या बढेर गएसँगै प्राधिकरणले नयाँ कालोपत्रे गर्ने गुरुयोजना २ वर्ष अगाडि नै ल्याएको थियो । तर, कार्य सुरु गर्न भने विभिन्न कारणले ढिलो भएको थियो । अब भने विमानस्थल असार १६ देखि भदौ १४ सम्म २१ घन्टा सञ्चालनमा आउने छ ।