महतगौडा बिसखेतमा १६ औ असारे रोपाई महोत्सव हुने

पोखरा, असार ९ । पोखरामा १६ औ संस्करणको असारे रोपाई महोत्सव हुने भएको छ । अषाढ १५ गते पोखरा १७, महतगौडा विरुवाफाँट बिसखेत स्थानिय ऋषिराम भण्डारीको करिब ४ रोपनी क्षेत्रफलमा हुने उक्त महोत्सवको विषयमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पोखरा पर्यटन परिषदको आयोजनामा हुने महोत्सवमा साउने प्रतियोगिता(हलगोरुको दौड), विभिन्न आमा समुहबिच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (नेपाली पुरुष, महिला, विदेशी पर्यटक पुरुष र विदेशी पर्यटक महिला छुट्टाछुट्ै), रस्सा कसी प्रतियोगिता नेपाली र विदेशीबीच, पत्रकारहरुको हिलो दौड प्रतियोगिता, स्थानिय एवं कास्की जिल्लामा उत्कृष्ट कृषकलाई सम्मान कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम लगायतको प्रस्तुती रहनेछ ।

पोखरा र यस वरपरका क्षेत्रमा भएका विरुवा फाँट, कुँडहर फाँट, हेम्जा फाँट, सेती बगर लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग भएको हुँदा खेतीयोग्य जमिनको संरक्षणका लागी पनि यो महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

पोखरेलले भने—“कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्ने तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्य सहित असारे महोत्सवको आयोजना गरेका हौ ।”

महोत्सव व्यवस्थापनका लागी रु १३ लाख १० हजार अनुमानित खर्च लाग्ने बताइएको छ । असारे महोत्सवलाई सफल पार्न पोखरेलको संयोजनमा १९ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न १८ उपसमितिहरु साथै लक्ष्मण भण्डारीको संयोजनमा ६ समिति गठन गरिएको छ । असारे महोत्सव २०६१ सालदेखि निरन्तर रुपमा हुदै आएको छ ।