१२ रोपनी गुठीको जग्गामा १५ तले ‘छाया सेन्टर’,नियामक निकाय माैन

काठमाडौं, असार ३ । गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ ।

काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो ।

सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादर पाण्डेले १५ तले भब्य भवन बनाई छाया सेन्टर सञ्चालन गर्नुभएको छ ।

स्थानीय जनताले पटक–पटक आन्दोलन गर्दासमेत कुनै सुनुवाइ हुन सकेको छैन । विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत दिइसकेको छ ।

पाण्डेकी आमा छायादेवीको नाममा निर्माण गरिएको सो केन्द्रले करिब १२ रोपनी क्षेत्रफल ओगटेको छ । सो भवनको स्वामित्व तीन जनाको रहेको छ । भवनमा करिब ३० व्यक्तिको लगानी छ ।

‘हामीले गुठीको जग्गाको भवन निर्माण गर्ने क्रममा जग हाल्दादेखि आन्दोलन गयौं, अहिले पनि हाम्रो आन्दोलन जारी छ । तर जग्गा संरक्षण गर्ने विषयमा राजनीतिक दलका नेता र सरकारी निकायले कुनै चासो नदिएपछि समस्या परेको छ,’ भगवान वहालका स्थानीय एवं राष्ट्रिय पहिचाल संयुक्त संघर्ष समितिका सहसंयोजक यादवलाल कायस्थले नेपाल समाचारपत्रसंँग भन्नुभयो ।

विभिन्न नेता र भूमिसुधार मन्त्री पद्मा अर्यालकहाँ पटक–पटक गर्यो तर हाम्रो कुराको कुनै वास्तै भएन, सांसद प्रकाशमान सिंहको घरमै पुगेर अनुरोध गरेका थियौं, कायस्थले भन्नुभयो– अहिले त उल्टै आन्दोलन रोक्न दबाव दिन थालिएको छ ।

नियामक निकाय गुठी हुँदा त बन्यो छाया सेन्टर, प्राधिकरण आए झन के होला ?

मन्त्रालय गयो, हेरौंला भन्छन्, गुठीले कुनै उत्तर दिन सकेको छैन, अब अदालतको आदेशको पर्खाइमा छौं, उहाँको भनाइ थियो ।

स्थानीय भागवत नर्सिंङ प्रधानले गुठीको जग्गा गुठीकै नाममा गराई पाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । पेशी सर्दा–सर्दा साउनमा पुगेको छ, साउनमा हुने सुनुवाइको पखाइमा छौं कायस्थले भन्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा रहेको सो जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको छ । गुठीको नाममा रहेको सो जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।