काठमाडौंको चक्रपथमा ३ हजार बिरुवा राेप्दै वन तथा वातावरण मन्त्रालय

काठमाडौं,असार २ । वन तथा वातावरण मन्त्रालयले संघीय राजधानीको बालकुमारी–कलंकी चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ ।

मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब ३ हजार ३ सय राजवृक्ष, तेजपात, गिनको बाइलो लगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागले जनाएकाे छ । चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिने छ ।

वृक्षरोपण गरिएका बिरुवाको संरक्षणका लागि स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीय लगायतसँग समन्वय गरिने छ । वृक्षरोपणलाई प्रभावकारी बनाउन विभागले यसअघि सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।

संघीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ ।