पर्यटन क्षेत्रमा गण्डकी प्रदेशको बजेट, कहाँ कति ?

पोखरा ,असार २ । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटमा पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट गुणस्तरीय सेवा र नया पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधि लम्बाउने तथा निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्ने अतिथिदेवो भव ः अभियानलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन पूर्वाधार विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गरिने बताएका छन् । प्रकृति संस्कृति र साहसिक पर्यटन समेट्ने गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरुयोजना तयार गर्न प्रदेश सरकारले रु १ करोड विनियोजन गरेको उनले बताए । पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारि रुपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्रको स्थापना गर्न रु ५ करोड विनियोजन गरिएको मन्त्री गुरुङको भनाई थियो । उनका अनुसार पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रुपमा लिइनेछ ।

जसअन्तर्गत सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्षको रुपमा मनाउन रु १ करोड विनियोजन गरिएको गुरुङले बताए । प्रदेश सरकारले पर्यटक आकर्षक क्षेत्रको रुपमा घोषणा भएका ११० पर्यटन गनतव्य मध्य प्रत्येक जिल्लामा ४ गन्तव्यको छनौट गरी जम्मा ४४ गन्तव्यमा पूर्वाधार विकास गर्न रु १७ करोड ६० लाख विनियोजन गरेको छ । राउण्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग पार्क, उद्यान तथा भ्यूटावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन रु १८ करोड विनियोजन गरेको मन्त्री गुरुङले उल्लेख गरे ।

उनका अनुसार चालु आर्थिक वर्षमा सञ्चालित होमस्टे प्रबद्र्धन कार्यक्रमलाई परिमार्जन गर्दै सञ्चालन गर्न रु २५ करोड विनियोजन गरिएको छ ।