प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव जेठ १६ देखि

सविन रेग्मी,जेठ ५। प्रथम लोमन्थाङ गाउपालिका महोत्सव यहि ज्येष्ठ १६ देखि १९ गते सम्म संचालन हुने भएको छ । लोमन्थाङ गाउपालिका र अन्नपुर्ण संरक्षण क्षेत्र, इलाका संरक्षण कार्यालय लोमन्थाङको संयुक्त आयोजनामा हुने महोत्सवमा मौलिक घोडादौड प्रतियोगिता, होर्तो प्रतियोगिता, स्थानिय मौलिक भेषभुषा सहितको साँस्कृतिक कार्यक्रम,तिर हान्ने प्रतियोगिता साथै स्थानीय खानाहरुको उत्सव लगायतका कार्यक्रम रहने जानकारी गराईएको छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्न र नेपाल सरकाले घोषणा गरेको भिजन २०२० लाई टेवा पुर्याउनुका साथै गाउपालिका भित्रका पर्यटकीय गन्तव्यलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

महोत्सवले स्थानीय उत्पादनको प्रर्वद्धन र बजारीकरणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन आउनेले उपल्लो मुस्ताङको ऐतिहासिक पर्व तिजी मेलाको समेत अवलोकन गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुशीलकुमार अर्यालले बताए ।उनका अनुसार महोत्सवको अन्य आकर्षणमा गुफामै बसौ,गुफामै खाउ, गुफामै रमाउ भन्ने नाराका साथ संचालित केभ रेष्टुरेण्ट एण्ड लजको भ्रमण, याकमा सवार,कोरला नाका भ्रमण रहेको छ ।

महोत्सवलाई सम्पन्न गर्न अनुमानित १७ लाख ९६ हजार खर्च लाग्ने जानकारी गराइएको छ । २० हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा करिब २ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रथम लोमन्थाङ गाउँपालिका महोत्सवको उद्धघाटन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने सांसद बिष्टले बताए । उनका अनुसार समापन भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम छ ।
महोत्सवलाई सफल पार्न प्रदेशसरकारबाट पनि सक्दो सहयोग गर्न आफुले पहल गरेको उनले बताए । पत्रकारको प्रश्नको जवाफ दिदै बिष्टले यो महोत्सव अरुको मेलाको कपि नभएको बताए । “हामीले हाम्रै मौलिक कार्यक्रमहरुलाई प्रस्तुत गर्न लागेका हौ, यो अरु मेलाको कपि होइन”—उनले भने ।

मेला अवलोकन गर्न जाने वा भ्रमण जाने पर्यटकहरुले बाटोको कारणले अफ्ठयारो नहुने बिष्टले बताए । ‘बाटोको ८० प्रतिशत काम सकिएको छ’,उनले भने, ‘अहिले सहजै यात्रा गर्न सकिन्छ ।’ महोत्सव सफल पार्न गाउपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टको संयोजकत्वमा २५ सदस्य मूल समिति गठन गरिएको छ भने कार्यक्रमको सफलताका निम्ति ८ वटा उपसमिति विभाजन गरिएको छ ।