साकेला उभौली पर्व आजबाट शुरु

काठमाडौं,जेठ ४। आज वैशाख शुक्ल पुर्णिमा, किराँती समुदायले उभौली पर्व धुमधामका साथ मनाउँदैछन।

उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । बसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ ।

आज अर्थात वैशाख शुक्ल पूर्णिमा उभौली हो भने मंसिर शुक्ल पूर्णिमा उधौली हो । उभौलीमा लगाइएको बाली उधौलीमा भित्र्याइन्छ । सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गर्छन् भन्ने विश्वास छ । त्यसैले उभौली सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सूस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।

उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पुर्वी भुगोल सहित काठमाडौं उपत्यकामा समेत विभिन्न कार्यक्रम आयोजना गरिन्छ । गाउँगाउँ टोलटोलमा साकेला नाच प्रदर्शन हुँदा उभौलीले निकै रमाईलो पर्वको संकेत दिन्छ ।