२५६३ औं बुद्ध जयन्ती आज मनाईदै

काठमाडौं,जेठ ४। वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।

गौतम बुद्धको सम्झनामा मुलुकभर आज बिभिन्न कार्यक्रमको आयोजना हुदैछ । इसापूर्व ५४३ अर्थात २५६३ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान गौतम बुद्धको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किेका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धगयास्थित बोधिवृक्ष पीपलको रुख मुनि बुद्धत्व प्राप्त गर्नुभएको उल्लेख छ ।