पर्यटकीय नगरी पोखरामा भैरव मन्दिरको शिलान्यास

पोखरा,जेठ ३। पोखराको भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार मन्दिरको शिलान्यास गरे । अहिले भैरव साँस्कृतिक संरक्षण समितिको कार्यालय रहेकै ठाउँमा करिब २ करोडको लागतमा नयाँ मन्दिर बन्न लागेको हो ।

पोखरामा करिब २ सय ४० वर्ष पहिला भक्तपुरबाट पोखरा आउँदा नेवारहरुले भैरवको गंगानृत्य संस्कृति पनि बोकेर ल्याएका थिए । उनीहरुले पोखराको जुन ठाउँमा थातथलो बसाले, त्यहीँ भैरवको पूजा गर्न थाले । नेवारहरु भैरवलाई धनको देवता पनि मान्छन् । भैरव नाफा नलिई व्यापार गरे रिसाउँछन् भन्ने मान्यता पनि नेवारी परम्परामा रहेको छ । भैरवटोलमा बस्ने नेवारहरुले बाह्रभैरवका मुकुटहरुलाई सानो खरले छाएको घरभित्र बिराजमान गराए । २००६ सालको आगलागिले भैरवमन्दिर पनि छाडेन । २००९ सालमा सोही ठाउँमा तीनतले भवन बन्यो ।

‘२०५० सालमा भएको भैरवनृत्यबाट बचेको पैसा र दाताको सहयोगमा अर्को भवन बन्यो’, भैरव साँस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले भने,‘हरेक ६–६ वर्षमा भैरवमन्दिरबाटै भैरवनृत्य निकालिन्छ,यो परम्परा कायमै रहने विश्वास छ ।’

मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महागरपालिकाका मेयर मानबहादुर जिसीले आपतबिपतमा चाहिने भनेकै देउता भएको तर्कगर्दै दुष्ट भावना हटाउन पनि भगवानको शरणमा पुग्नुपर्ने धारणा राखे । उनले भैरव मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनको सहयोगी हुने विश्वास पनि व्यक्त गरे । मन्दिर बनाउन महानगरले सघाउने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै भैरव साँस्कृतिक संरक्षण समितिका सल्लाहकार तीर्थ श्रेष्ठले मन्दिरसँग आस्था मात्र जोडिएको छैन, पर्यटकीय सम्भावना पनि जोडिएको बताए । उनले भैरव मन्दिरको निर्माणले पोखरामा थप एउटा पर्यटकीय गन्तव्य थपिने धारणा राखे । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले साँस्कृतिक सम्पदा र संस्कृतिको संरक्षणको दायित्व समुदायको मात्र नभएर सरकारको पनि भएकोमा जोड दिँदै भवन निर्माणमा सरकारी सहयोग आउनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्लले मन्दिर निर्माणसँगै पोखराको पुरानो बजार क्षेत्रको बाटो र अन्य साँस्कृतिक सम्पदाहरुको संरक्षणमा पनि वडाले ध्यान दिने बताए । भवन निर्माण समितिका संयोजक तथा भैरव सास्ँकृति संरक्षण समितिका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले सबैको सहयोगले मात्र निर्माण कार्य सम्पन्न हुने भएकाले दाताहरुलाई यथाशक्य सहयोग गर्न अपील गरेका थिए। उनको अपीलसँगै शिलान्यासकै बेला दाताहरुले स्वेच्छाले सहयोग रकमको घोषणा समेत गरेका थिए । मन्दिर एक वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको छ।