मजदुरको आन्दोलन : चियापत्ति कामै नलाग्ने गरी हुर्कियो

इलाम, बैशाख २३। चियापत्ति टिप्ने सिजनमै सुरु भएको मजदुर आन्दोलनका कारण इलामका चिया बगानमा हरियो चियापत्ति हुर्किएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

सेवा–सुविधाको माग गर्दै श्रमिकहरु एक महिनादेखि आन्दोलनमा उत्रिएपछि चिया अलपत्रमात्र परेको छैन, मजदुरको दैनिकी पनि कस्टकर बनेको छ ।

सरकारले तोकेबमोजिमको सेवा–सुविधा पाउनुपर्ने माग गर्दै चिया बगानका श्रमिकहरु आन्दोलनमा उत्रिएपछि इलामका चिया बगान र कारखानामा अवरोध पुगेको छ ।

अहिलेसम्म कम्तीमा चारपटक चिया टिपिसक्नुपर्ने भएपनि श्रमिकका माग सम्बोधनमा आलटाल गरेपछि चियाका बगान अलपत्र बनेका हुन् ।

अन्य कतिपय कारखाना र बगानले श्रमिकसँग सम्झौता गरेर कार्य आरम्भ गरे पनि संघाई ग्रुपले जिम्मा लिएको बगान र कारखाना ठप्प रहेका छन् ।

आन्दोलनकै कारण श्रमिकहरुलाई दैनिक गुजारा टार्न पनि समस्या भएको चिया श्रमिकहरुको भनाइ छ ।

गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम् पारिश्रमिक मूल्य दैनिक ३८५ रुपैयाँ तोकेको थियो । तर, अहिलेसम्म पनि दैनिक २६५ रुपैयाँमा काम गरिरहनुपरेको उनीहरुको गुनासो छ ।

श्रमिकहरुले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनुपर्ने, दसैं पेश्कीलगायत अन्य सेवा–सुविधा पाउनुपर्नेलगायत माग राखेका छन् ।

सिजन सुरु हुनासाथ थालिएको मजदुर आन्दोलनका कारण चिया टिप्ने काम नहुँदा हरियोपत्ति काम नै नलाग्ने गरी हुर्किएको छ भने अर्कोतिर चिया मजदुरलाई पनि दैनिक गुजारामा निकै मुस्किल परेको छ ।

काम नगरौं छाक टार्न मुस्किल, काम गरौं परिश्रमले मूल्य नपाउने भन्दै उनीहरु निराश र उदास बनेका छन् ।