बर्षौदेखि दोहोरो मारमा ज्यालादारीमा जीवन चलाउँने चिया मजदुरहरू

इलाम, वैशाख १९। हरेक वर्ष सिजनसँगै चिया मजदुरहरूको आन्दोलन शुरू हुन्छ । नारा जुलुससँगै धर्ना कोणसभा हुन्छन् । केही दिन बगान बन्द हुन्छ, उद्योग कारखानामा ताला लाग्छ । श्रमिकको पसिनाको उचित्त ज्याला र सामाजिक सुरक्षाको आवाज उठ्छ । मोफसलदेखि राष्ट्रिय सञ्चार माध्यमसम्म पुग्छ । कहिले बिना निष्कर्ष त कहिले केही सम्झौतामा आन्दोलन सेलाउँछ । यस पटकको आन्दोलन पनि हातमा लाग्यो सून्यमा टुङ्गिने सम्भावना देखिन थालेको छ ।

संघाइले लिजमा लिएको चिया कारखानाका मजदुर महिना दिनदेखि निरन्तर आन्दोनलनमा छन् । सरोकारवाला मजदुरको आवाज सुनेपनि बेखबर जस्तै छन् । सिजनको पहिलो टिपाइको समय सकिनै लागेको छ । मजदुरको आन्दोलन फेरि बिना निष्कर्ष सेलाउने सम्भावना बढ्दै गएको छ ।

दैनिक ज्यालादारीमा जीवन चलाउँने श्रमिकको आनन्दोलनले कतिञ्जेल पो थेग्छ । कहिले बिना निष्कर्ष त कहिले केही सम्झौतामा आन्दोलन सेलाउँछ । बिना निष्कर्ष त छदैछ, गरेको सम्झौता पनि त्यतिकै हराउँछ । फेरि श्रमिकले त्यहि बगान र कारखाना धाउनुपर्छ । जीवन धान्ने बैकल्पिक उपाय छैन । श्रम गर्न नजाउँ त चुल्होमा आगो बल्दैन । जाँउ त पसिनाको उचित्त मूल्य छैन । चिया मजदुर बर्षौदेखि यस्तै दोहोरो समस्यामा खेप्दै आएका छन् ।

मजदुरको मतले निर्वाचित भएर जनप्रतिनीधिको जीवनशैली फेरियो तर चिया बगान र कारखानामा काम गर्ने कामदारको दैनिकी फेरिएको छैन । मजदुरहरू आवाज बोकेर स्थानीय सरकारदेखि संघीय सरकारको सिंहदरबारको दलानसम्म पुगे । श्रमिकहरूको नाराजुलुस, घेरबन्दी, बन्द र आमहड्ताल अनगिन्ती भए । उनिहरूको समस्या वर्षौदेखिको जस्ताको तस्तै छ ।

श्रम ऐन २०७४ कार्यान्वयन गरेर योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउनुपर्ने । गएको साउनदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै चिया मजदुर चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले गएको साउनदेखि कार्यान्वयन हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक ज्याला तीन सय ८५ रूपायाँ र कारखानामा काम गर्ने श्रमिकको न्यूनतम ज्याला चार सय २७ रुपायाँ निर्धारण गरेको छ । अहिले दुबै खाले श्रमिकले इलाममा दैनिक दुई सय ६५ रूपायाँ ज्यालामा काम गर्न बाध्य छन् ।

श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्ति पत्र, बिमा, विदा सुविधा, औषधोपचार लगायतको व्यवस्था गरेको छ । वार्षिक तलब वृद्धि, चाड पर्व खर्च, उपचार खर्च समेतको सेवासुविधा तोकेको छ ।

गएको चैत १७ गतेदेखि शुरू भएको आन्दोलनले एक महिना बिताए पनि मजदुरको माग सुनुवाई हुने काँटछाट देखिएको छैन । माग सुनुवाई नहुँदा संघाई समूहले लिजमा लिएको इलामका चार चिया कारखानाका सात सय चिया मजदुरको अवस्थामा पुरानै ठाउँमा फर्किनुको विकल्प देखिदैन ।

-नयाँबुलन्द