अब भारतको गुवाहटीबाट बुद्ध एयरले नियमित उडान गर्ने

काठमाडौं, बैशाख ५। निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ। आगामी साउन १८ देखि बुद्ध एयरले भारतको गुवाहटीबाट नियमित उडान गर्ने जानकारी दिएको छ।

बुद्धले आउँदो जेठ १३ गतेदेखि साताको तीन उडान काठमाडौं–कोलकत्ता गर्ने योजना यस अघिनै सार्वजनिक गरिसकेको छ। हाल बुद्धको सातामा २ वटा उडान काठमाडौं–बनारस गर्दै आएको छ।

बुद्धले काठमाडौं–गुवाहटी साताको दुई वटा उडान गर्नेछ। ७२ सिटे एटिआर विमानबाट हरेक मंगलबार र शनिबार बिहानको सात बजे उडान भर्ने बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयरले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया सुरू गरिसकेको जानकारी गराएको छ।