आन्तरिक पर्यटकको आकर्षणमा लिगलिग कोट

राजेश पौडेल / गोरखा,बैशाख ३ । पछिल्लो समय लिगलिग कोटमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पालुङटार नगरपालिका वडा नं. २ मा रहेको पालुङटार नगरपालिकाको एक मात्र पर्यटकिय गन्तव्य बनेको लिगलिग कोटमा नगरपालिकाले ठूलो राष्ट्रिय झण्डा राखेपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको हो ।

बिभिन्न चाड पर्वहरुमा अलिअलि मात्र पर्यटकहरुको उपस्थिति देखिने लिगलिग कोटमा नयाँ वर्षको अबसरमा भने घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या अहिले सम्मकै धेरै भएको लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाको भनाई रहेको छ । लिगलिग कोटमा आन्तरिक पर्यटकहरु बढे पनि स्थानिय निकायले विकासका पूर्वाधार नयाँ संरचनाहरुको विकासमा भने खासै ध्यान नदिएको विकास अभियानका अध्यक्ष रानाको गुनोसो रहेको छ । अध्यक्ष रानाले भने “लिगलिग कोटमा अझै दुरर्विन राख्ने, भ्यू टावर वनाउने, मन्दीर बनाउने, दरवारको स्तर उन्नती गर्ने, बाटोको स्तर उन्नती गर्ने जस्ता कामहरु गर्न सके अझै पर्यटकहरुको भिड् लाग्ने थियो ।”

बिगतको समयमा आन्तरिक पर्यटकहरुको आवागमन छिट्ट फुट्ट हुने गरेको देखिए पनि नयाँ वर्ष अर्थात बैशाख १ गते भने लिगलिग कोटमा करिव १५ सय आन्तरिक पर्यटकहरुको उपस्थित रहेको बिकास अभियानका अध्यक्ष रानाले बताए । अहिले झण्डा हेर्नको लागि भरेर पनि पर्यटकहरु आउने गरेको र अझ स्थानिय निकायले बाटोको स्तर उन्नती गर्दिएमा अझै बुढा पाकाहरु समेत आउन सक्ने अवस्थाको सृजना हुने रानाको विस्वास रहेको छ ।

अहिले पनि टाढा टाढाबाट लिगलिगमा आउने पर्यटकका लागि बस्ने ठाउँको उचित प्रबनद्ध नभएकाले अब छिट्टै विकास अभियानले बस्ने खाने ठाउँको समेत व्यवस्था मिलाउने तयारी गरेको उनको भनाई छ ।

हिसावकिताब नबुझाएका कारण समस्या आएको–नगरप्रमुख कडेल

पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कडेलले लिगलिग विकास अभियान र स्थानियहरुले काम गर्ने र हिसाव किताब नबुझाउने गरेका कारण समस्या आएको बताएका छन । नगरप्रमुख कडेलले नगरपालिकाले लिगलिग कोटमा पर्यटकिय सम्भावना र लिगलिगको विकासको लागि प्रचार प्रसारको काम अघि बढाई रहेको भन्दै लिगलिग बिकास अभियानले कर्मकाण्डी हिसाबले लिगलिगे दौड गर्ने भन्दा अरु केहि काम नगरेको प्रतिक्रिया दिएका छन ।

नगरप्रमुख कंडेलले लिगलिग कोटमा होमस्टेको अबधारणा बिकासका लागि नगरपालिकाले सामुदायिक भवन निर्माण गरिसकेको र लिगलिगका बासिन्दालाई होम स्टे निर्माणको लागि नगरपालिकाले आवस्यक सहयोग प्रतिवद्धता समेत व्यक्त गरेका छन ।