पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण

पर्वत, बैशाख ३। नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।

मंगलबार साँझ ६ बजे ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरेको हो ।

प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको आरक्षका कर्मचारी आशिष थापाले जानकारी दिए । बलेवामा सुरक्षित अवतरण पश्चात् भोलि बुधबार बिहान गन्तव्यमा जाने थापाले बताए ।