आपराधिक मनस्थितिमा नेपाल भित्रिदै विदेशी

काठमाडौं, बैशाख ३। नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान। धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन्। तर पछिल्लो समय विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन्।

सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ।

कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो। अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।