आज पोखरामा राष्ट्रिय झण्डा दिवस मनाईदै

पोखरा, बैशाख १। पोखरामा राष्ट्रिय झण्डा दिवस मनाईने भएको छ । पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा र्याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको आयोजक संस्था बासका अध्यक्ष शिवराज बस्ताकोटीले बताउनुभयो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुंगादेखी न्युरोड हुदै सभागृहचोकसम्म राष्ट्रिय झण्डा सहितको र्याली गरिने बस्ताकोटीले जानकारी दिनुभयो । राष्ट्रिय पोशाक र झण्डा सहितको उक्त र्यालीमा पोखराका विभिन्न सामाजिक संघसंस्थाहरुले ऐक्यवद्धता सहित सहभागीता जनाउने युवा पत्रकार संजाल गण्डकीका अध्यक्ष भीम थापाले बताउनुभयो ।

राष्ट्र र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको संरक्षण र सम्मान स्वरुप आयोजित उक्त उहाँका अनुसार कार्यक्रममा पोखरामा क्रियाशिल विभिन्न युवा क्लव र सामाजिक संघ संस्थाहरुले सहभागीता जनाउने भएका हुन् ।

पछिल्लो समय राष्ट्र र राष्ट्रियता प्रति कयौन बहस तथा छलफलहरु गरिए पनि सारमा त्यस प्रतिको चिन्ता सर्वथा सरोकारको विषय भएको अध्यक्ष थापाले बताए । यसलाई राष्ट्रिय जागरणको रुपमा बुझ्न र वैशाख १ गतेको कार्यक्रममा सहभागीता जनाउन उनले सम्बन्धित सवैलाई आह्वान गरेका छन् ।