नेपाल भ्रमण वर्ष २०२० ‘सफ्ट लञ्चिङ’ आज पोखराबाट हुँदै

पोखरा,चैत्र ३० । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्व सुरुवात अर्थात ‘सफ्ट लञ्चिङ’आज पोखराबाट गर्ने भएको छ । नयाँवर्ष २०७६ को पूर्व सन्ध्यामा पर्यटकिय नगरी पोखराबाट भ्रमण वर्षको सुरुवात गर्न लागिएको हो।

पोखराको फेवातालस्थित कोमागाने पार्कमा शनिबार साँझ ५ बजे विशेष कार्यक्रम गरी भ्रमण वर्ष सुरु गरिने नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिले जनाएको छ।
उद्घाटनअघि पोखराको बिरौटाचोक, रत्नचोक र बाराहीचोकबाट विभिन्न झाँकीसहित र्‍याली निकालिने कार्यक्रम कार्यान्वयन समितिका सदस्य विप्लव पौडेलले जानकारी दिए ।

भ्रमण वर्षको तयारीका सम्बन्धमा यसअघि यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले पोखराबाट पहिलो चरणको सुरुवाति कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो। भ्रमण बर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारी गर्दै भ्रमण वर्षको औपचारिक सुरुवात गरिने समितिले जनाएको छ।
भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूल आयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो । अहिले पर्यटन मन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु अब २०७५/७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो । उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो ।

नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।