फेवा नववर्ष महोत्सवको तयारी पुरा, होटलमा १५ प्रतिशतसम्म छुट

सबिन रेग्मी/पोखरा, चैत्र २८ । नेपाली नयाँ वर्षको सँघारमा वर्षेनी पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गर्ने फेवा नव वर्ष महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराईएको छ । पोखरामा विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले करिब एक लाख आन्तरिक एवम बाह्य पर्यटक र स्थानिय वासिन्दाहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखेको छ ।

“संस्कृति,खाना र संगीत” नारा तय गरेको फेवा नव वर्षमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, प्रख्यात कलाकारबाट पप कन्सर्ट, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु, पर्यटक दौड प्रतियोगिता र लोक दोहोरीका कार्यक्रमहरु रहने महोत्सव संयोजक एवं पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताएका छन् । २०७५ चैत्र २९ गते शुक्रबार देखि २०७६ बैशाख १ गते सम्म सञ्चालन हुने महोत्सव पोखरा—६, कोमागाने पार्क लेकसाइडमा हुने छ ।

अन्तराष्ट्रिय क्षेत्रमा नेपाली नयाँ वर्षको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । महोत्सवकै प्रचारका लागि संघले नेपालका प्रमुख शहरहरु काठमाडौ, जनकपुर, चितवन र लुम्बिनीमा “जाउ है पोखरा” अभियान पनि सम्पन्न गरिसकेको छ । उक्त अभियानमा घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि घोषणा गरिएको छ । विगत वर्षमा ५ दिनसम्म चल्ने महोत्सवलाई घटाएर ३ दिन सम्म गरिने संयोजक तुलाचनले बताए ।

विगतमा हामीले ५ दिन सम्म महोत्सव सञ्चालन गर्थौ’, उनले । भने,‘यसपटक भने ३ दिन सम्म गर्दै छौ ।’ महोत्सवको सम्पुर्ण सुरक्षा व्यवस्थाको तयारी पनि पुरा भएको जानकारी गराइएको छ । महोत्सव अवधिभर होटलमा १५ प्रतिशत छुट गण्डकी प्रदेशको “आन्तरिक पर्यटन वर्ष—२०१९” लाई सफल पार्न होटल संघले महोत्सव अवधि भर १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । आन्तरिक एवम बाह्य पर्यटकहरुलाई लक्षित गरि उक्त छुटको व्यवस्था गरिएको तुलाचनले बताए । महोत्सव अवधिभर क्षणिक रुपमा फाइदा लिने उदेश्यले ग्राहकलाई दुख दिएमा अनुगमन गरि कारबाही गरिने होटल संघले बताएको छ ।

नेपालमा विदेशी पर्यटक नघटे पनि ४० प्रतिशत भन्दा अधिक विदेशी पर्यटक पोखरा भित्राउन नसकेको जानकारी गराईएको छ । पोखराको पर्यटनको साखलाई आन्तरिक पर्यटकले जोगाएको संघको भनाई छ । आन्तरिक पर्यटननै पोखराको मेरुदण्ड भएको उल्लेख गरिएको छ । “नेपाल पर्यटन भ्रमण वर्ष —२०२०” को शुभारम्भ गरिने महोत्सवकै अवसरमा पोखरामा यहि चैत्र ३०गते सरकारद्वारा घोषित “नेपाल पर्यटन भ्रमण वर्ष—२०२०”को शुभारम्भ गरिने पर्यटन बोर्डका सदस्य एवम होटल बाराहीका सञ्चालक विप्लव पौडेलले बताएका छन् ।

पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने माग बराम्बार संसदमा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीले उठाएको कुरालाई स्मरण गर्दै उनले मन्त्री अधिकारीकै सपना बमोजिम पोखराबाटै उक्त शुभकार्यको थालनी गर्न लागिएको बताए । पर्यटन भ्रमण वर्षको बजेट पास भइसकेको उनको भनाई थियो । “यो हाम्रो लागि पर्यटन वर्षलाई स्विकार गर्न पोखराका व्यावसायी सक्षम छन् भन्ने सन्देश प्रवाह गर्ने गतिलो अवसर पनि हो”—उनले भने ।

शनिबार साँझ ५ बजे झाँकी सहितको ¥याली निकालेर “नेपाल पर्यटन भ्रमण वर्ष—२०२०” को शुभारम्भ गरिने छ । महोत्सव अवधिभर नेपाली खाना अन्तर्गत सिस्नुको झोल, फाँडो, नेवारी लगायत सेलरोटी सहित फापरकोरोटीको स्वाद लिन पाउने आयोजकले बताएको छ ।