वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा

टुरिजम संचार, चैत्र ६। वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा वसन्तोत्सवको पर्व हो । होलि पर्वको रूपमा परिचित यो पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व छ । अबेर छर्केर खेल्ने मेला भएकोले यस पर्वलाई रङ्गको पर्व पनि भनिन्छ । उपत्यकाको हकमा आज आइतबार यो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

ऋतुहरूमध्ये उत्कृष्ट ऋतु वसन्त ऋतु हो । वसन्तको आगमनसँगै रूखमा नयाँ पालुवा पलाउने, रङ्गीचङ्गी फूल फुल्न थाल्ने यो ऋतु सबैका प्रिय ऋतु मानिन्छ । रूखमा नयाँ पात पलाउने भएको हुँदा यही समयदेखि हरियाली छाउन थाल्छ । हरियाली छाउने, रङ्गीचङ्गी फूल फुल्ने, न गर्मी न जाडो हुने, शिरशिर हावा चलेर शीतलता दिने यो ऋतुको आगमनसँगै मनाइने होली पर्वको आफ्नै महिमा छ, आफ्नै संस्कृति छ । शीतलता प्रदान गर्ने, मनमोहक बनाउने र सबैलाई आनन्दको अनुभूति दिने ऋतुको प्रारम्भमा मनाइने फागु पूर्णिमालाई जीवन्तता दिनुपर्छ ।

यो पर्व रप्तरङ्गी पुष्पको पर्व, असत्यमाथि सत्यको विजयको प्रतीक पर्व पनि मानिन्छ । यसै पर्वमा हिरण्यकस्यपुर, होलिका, प्रल्हाडमात्र होइन कृष्ण र गोपिनीहरूको वर्णन पनि हुन्छ । यो पर्वमा उपत्यकामा अबेरमात्रै प्रयोग हुन्छ भने तराईमा अनेक रङ्ग (सप्तरङ्ग) प्रयोग हुन्छ । अबेर र अन्य रङ्ग छर्केर खेल्ने यो पर्वमा विकृति पनि भित्रिएको छ । अहिले प्लास्टिकमा पानी भरेर छ्याप्ने पर्वमा परिणत भइरहेको छ ।

पहिले लोला या बेलुनमा पानी भरेर हान्ने पर्वको रूपमा देखिएको थियो । तर लोला या प्लाष्टिकको पोकाले हान्ने पर्व होइन फागु पूर्णिमा । साथी–भाइ या आफू आफू राजीखुसीमा खेल्ने यो पर्वमा जवरजस्ती कसैलाई पनि अबेरले दल्नु हुँदैन । साथीहरू मादलको धुनमा गीत गाउँदै, अबेर छर्कदै सहर बजारमा खेल्ने यो पर्व मनोरञ्जनात्मक हुन्छ, आनन्दको अनुभूति हुन्छ, हर्षोल्लास हुन्छ । यसैले यो पर्व मौलिक पर्व हो, अबेरको पर्व हो, वसन्तोत्सवको पर्व हो ।