होलीको पुर्व सन्ध्यामा जनकपुरमा प्रत्येक वर्ष झै होली महोत्सव शुभारम्भ

जनकपुर , चैत्र ५ । मिथिला नाट्यकला परिषदद्वारा होलीको अवसरमा होली महोत्सव र महामुर्ख सम्मेलन सहितका दुई दिने कार्यक्रम आयोजना गरि होलि पर्ब मनाइदै आइएको छ । सोही अनुरुप यसवर्ष पनि ७ वटा होरैया टीमबीच प्रतिष्पर्धा गराइएको छ । सो प्रतिष्पर्धामा उत्कृष्ट भएकाहरुलाई मेडल, शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ ।  विलिन हुंदै गएको होलीको पारम्परिक लोकगीत होरैयाको संरक्षण सम्वद्र्धन उद्देश्यले होरैया टीमबीच प्रतिष्पर्धा गराइदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा होरैया टीमलाई डम्फा प्रदान गरी शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले होली पर्व समाजमा भाईचारा, एकता र सद्भाव कायम गर्ने भएकोले हुनाले यसलाई कुनै विशेष जात धर्म समुदायको पर्व नसोचेर सबैलाई मनाउन आग्रह गरे ।

महोत्सवको दोश्रो दिन बुधवार महामुर्ख सम्मेलन आयोजना गरिने भएको छ । महामुर्ख सम्मेलन मार्फत समाजका विशिष्ठ व्यक्तिहरुलाई महामुर्ख, पटमुर्ख, मुर्खाधिराज लगायतका पदवी दिइनेछ ।