पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सकियो

टुरिजम संचार/पोखरा,फाल्गुन ३०। पर्यटकीय नगरी पोखराको राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सकिएको छ । काम शुरु भएको १४ महिनामा विमानस्थलको निर्माण कार्य तीव्र रुपमा भएपनि कडा चट्टान फुटाउन आवश्यक बिस्फोटक पदार्थको प्रकृयाका कारण समय खर्चनु परेको हो।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समयसीमाभन्दा ६ महिना अघि नै सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमीन सम्याउने लगायतका कामहरु भइरहेका छन् ।

१४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकाले समय सिमाभन्दा छिट्टै विमानस्थल निर्माणको काम सम्पन्न हुने विमानस्थल आयोजना प्रमुखले बताए।

विमानस्थलमा चिनियाँ २ सय र नेपाली २ सय ५० जना गरी ४ सय ५० जनाले दैनिक काम गरिरहेका छन। २०१७ को नोभेम्वरदेखि विमानस्थलको निर्माण शुरू भएको हो । सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र बाँकी सबै काम सकिने आयोजनाले जनाएको छ ।

अहिले धावनमार्गको तेस्रो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । १४ हजार वर्ग मिटरमा बन्ने टर्मिनलको काम पनि धमाधम भइरहेको आयोजनाले जनाएको छ । टर्मिनल भवनको क्षमता वार्षिक ५ लाख यात्रु रहेको छ ।

८ हजार वर्ग मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्ग मिटर आन्तरिक उडानका लागि गरी १४ हजार वर्ग मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । टर्मिनल भवनको क्षमता वार्षिक ५ लाख यात्रु रहेको छ ।