बन्द : अपडेट कतै आगजनी, कतै तोडफोड, कतै बम

काठमाडौँ,फाल्गुन ३०। विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दकाक्रममा विहानै कैलाली, मकवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । बन्दमा गाडी चलाएको भन्दै उता कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा जल्दै गरेको ट्याक्टरका आगो नियन्त्रणमा लिइएको छ ।

यता काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको थियो । मास्क लगाएका युवाहरुले पेट्रोल छर्केर आगजनी गरेको चालकले बताएका छन् । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।
यसैबीच पोखराको सभागृह नजिकै बम भेटिएको छ । सभागृह चोकमा बिहीबार बिहानै बम जस्तो बस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

त्यस्तै हेटौंडा औद्योगिक क्षेत्र नजिकै बम भेटिएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै रहेको औद्योगिक क्षेत्रमा बमको हल्लाले त्रास फैलिएको थियो । प्रहरीका अनुसार निलो प्लाष्टिकमा बेरेको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको थियो । नेपाली सेनाले डिस्पोज गरेको थियो । सरकारले आफ्नो पार्टी नेता तथा कार्यकर्तामाथि दमन र गिरफ्तारी भन्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण यस्त घटनामा बृद्धि आएको छ । गत २८ गते सरकारले घोषितरुपमै सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि यस्ता घटना बढ्ने अनुमान गरिएको छ । आज नै सो पार्टीका महासचिव विप्लवले सरकारी प्रतिबन्धको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सरकारले लगाएको प्रतिबन्ध गलत भएको भन्दै वार्ताबाटै समस्याको समाधान खोज्न पनि दवाव परिरहेको छ ।