उपत्यकामा बन्द अवज्ञा , कहाँ के छ अवस्था ?

काठमाडौं,फाल्गुन ३०। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने न्यून देखिएको छ ।

विप्लव समूहले सवारीसाधन सञ्चालन, शैक्षिक संघसस्था र उद्योग तथा कलकारखाना ठप्प पार्ने चेतावनी दिएपनि काठमाडौं उपत्यकामा भने त्यसको अवज्ञा भएको छ ।

उपत्यकामा सवारीसाधन विगतमा जस्तै बिहानै देखि सञ्चालन भइरहेको छ । शैक्षिक संघसंस्था तथा कलकारखाना खोल्ने तरखरमा छन् । उपत्यका बाहिर केही जिल्लामा भने बन्दको प्रभाव परेको छ ।

कास्कीको पोखरा सभागृह परिसरमा सामान्य प्रकृतिको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको कास्की प्रहरीले जनाएको छ ।

रुपन्देहीको कालिका चोकमा पनि शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको रुपन्देही प्रहरीले जनाएको छ ।

राति नै अज्ञात समूहले मकवानपुरको दामनमा ट्रकमा आगजनी गरेको थियो । त्यस्तै, मकवानपुरकै हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज प्रक्रिया शुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

नेपालगञ्ज विमानस्थलको मुख्य गेटमा पनि शंकास्पद बस्तुफेला परेको प्रहरीले जानकारी दिएको छ ।