रंगाशाला निर्माणमा जुट्दै छ्न युवा

चितवन,फाल्गुन २८। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा भईरहेको छ । रंगाशाला निर्माणको लागि सामाजिक अभियान्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् ।

डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणको लागि भौतिक संरचनाको कामको सुरूवात भएकाले सामाजिक अभियान्ताहरू श्रमदाननमा जुटेका हुन् । पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे ग्रुप’ चितवनका अभियान्ताहरुले रंगाशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् ।

नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे ग्रुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए। केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामाग्री राख्नको लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगाएर कम्पाउण्डिङ गर्ने काम चलिरहेको छ ।

डीपीआरको काम सकिए पछि शिलान्यास गर्ने र त्यसको दुई वर्ष भित्र निर्माण कार्य सकाउने लक्ष्यसहित काम भइरहेको धुर्मुस् सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। करिब तीन अर्बको लागानीमा बन्न लागेको रंगाशाला निर्माणको लागि साढे पाँच करोड रूपैयाँ आर्थिक संकलन भइसकेको छ ।

केहीसमयअघि आर्थिक संकलनको लागि मलेशिया पुगेको धुर्मुस सुन्तली अब छिट्टै कार्यक्रम लिएर जापान जाने तयारीमा छन् । भरतपुर महानगरपालिकाको वडा नं. १५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको बीस विगाह छ कठ्ठा क्षेत्रफलमा रंगाशाला बन्न लागेको हो ।