घरेलु उद्योग महोत्सव २०७५ सम्पन्न

दिपेश बराल/काठमाडौं, फाल्गुन २७। राजधानीमा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५  आजबाट सकिएको छ । मेलामा करिब  १५ करोड रुपियाँ बराबरको कारोबार भएको छ भने ४ लाख बढी अवलोकनकर्ताले अवलोकन गरेका छ्न ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राजधानीमा एक समारोहका बीच मेलाको उद्घाटन गरेकी थिइन । मेलाको समापन विशेष कार्यक्रम बिच आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डितले गरेका हुन।

मेलामा प्रतिनिधि सभा उपसभामुख शिवमाया तुम्बहाम्फे, राष्ट्रियसभा तथा प्रतिनिधि सभाका सांसद, पूर्व मन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्वलगायत सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम  गरि प्रदर्शनी सकिएको छ।

पाँच दिनसम्म चलेको मेलामा २०५ वटा स्टल , उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी थिए , चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका थिए।

मेलाका थप तस्बिरहरु