विश्वकै आकर्षक शहर बन्दैछ चितवन

चितवन,फाल्गुन २७। बेलायतको लन्डन ब्रिजको मोडलबाट चितवनको नारायणगढ र नवलपुरको गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा पाँच वर्षभित्र सिग्नेचर पुल बन्ने भएको छ ।अहिले सञ्चालनमा आइरहेको नारायणी पुल पुरानो र जीर्ण बन्न थालेपछि सरकारले बेलायतको लन्डन ब्रिजकै ढाँचामा नयाँ पुल बनाउने प्रक्रिया अगाडि बढेको हो ।

सडक विभाग अन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक दिपक भट्टराईले प्रशिद्ध चिनिया इञ्जिनियर डा चेनको कार्य व्यस्तताले पुल निर्माणको काम अगाडि नबढेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ विश्वबैँकको अनुदानमा बनाइने पुल निर्माणको लागि नेपाली इञ्जिनियरहरुलाई प्रशिक्षण दिन विश्वप्रसिद्ध चिनिया इञ्जिनियर चेन एक महिनामा नेपाल आउँदै छन् । ’ उनले नेपालमा बनाइने १० वटा यस्ता पुलहरु मध्ये नारायणी नदीको नारायणी पुल प्राथमिकतामा परेको जानकारी दिए ।

कस्तो बन्दै छ पुल ? 

लन्डन ब्रिजबाट लन्डनशहर चिनिए जस्तै भरतपुर बजार र गैँडाकोटलाई यसै पुलले शहरी सौन्दर्यमार्फत् चिनाउने छ । सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन चिनिया इञ्जिनियर र नेपाली वरिष्ठ इञ्जिनियरहरुले निकै मेहनत गर्नेछन् । यसरी बन्ने पुल चार लेनको मोटरेबल नै हुनेछ ।

यस्ता पुलहरुलाई सुन्दर बनाउन रातको समयमा लाइटहरु जोडिनेछ । पुल बनेपछि शहर र राजमार्ग छेउको मुहार नै बदलिने सडक विभागअन्तर्गतको पुल महाशाखाको आशा छ । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । नारायणगढ–बुटवल सडक विस्तार हुने पनि तयारी भएकोले यो पुल बनेसँगै महेन्द्र राजमार्गको मध्यभागमा पर्ने चितवन विश्वकै आकर्षक शहरको रुपमा चिनिने इञ्जिनियरहरुको आशा छ ।