आङछिरिङ शेर्पा : ‘पायोनियर’

काठमाडौं,फाल्गुन १८। सोलुखुम्बुको खरीखोलामा जन्मिएका आङछिरिङ शेर्पा पर्यटन व्यवसायका ‘पायोनियर’ नै मानिन्छन् । पर्यटन व्यवसायमा जम्नुअघि ठूलै संघर्ष गरेका शेर्पाले ट्रेकिङ क्षेत्रमा भरिया र ‘किचेन ब्वाइ’का रुपमा गरे ।

नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ को रुपमा उदाएका शेर्पा बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा परी यस संसारबाट विदा भए । ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि व्यवसायी शेर्पाको साझेदारी थियो । उडड्यन व्यवसायमा मात्र होइन उनले होटल, ट्राभल, रिसोर्टमा समेत लगानी गरेका छन् ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्ट, थामसेर्कु ट्रेकिङ, नाम्चेमा यति माउन्टेन होम्सदेखि झापामा बन्दै गरेको होटल मेची क्राउनमा समेत उनको लगानी छ । नेपाली पर्यटन क्षेत्रलाई उचाई दिन सफल भएका व्यवसायी शेर्पाको मुलुकप्रतिको योगदान अतुलनिय छ ।

सन् १९९८ मा शेर्पा दाजुभाई मिलेर यति एयरलाइन्स स्थापना गरे । सन् १९९८ को सेप्टेम्बरमा यतिको ट्विनअटर जहाजले व्यवसायिक उडान गर्यो । यति एयरलाइन्सको उडानले उचाई लिइरहेको समयमा आङछिरिङले सन् २००९ मा तारा एयरको अर्काे एयरलाइन्स कम्पनी पनि स्थापना गरे । यति एयरसँग ३ एटिआर र ६ जेटस्ट्रिम गरी ९ वटा जहाज छन् । तारा एयरसँग ६ वटा जहाज छन् । दुवै कम्पनीको जोड्दा आङछिरिङको स्वामित्वमा आन्तरिक उडानतर्फ १५ वटा जहाज सञ्चालन हुँदै आएका छन् । यी जहाजले दैनिक ६० उडान गर्छन् ।

सन् २०१४ मा नेपाल चीन संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्समा पनि शेर्पाको लगानी छ । शेर्पालाई पर्यटनमा आफु अनुकुल नीति बनाउने गरेको आरोप पनि नलागेको होइन् । तर नेपाली पर्यटन क्षेत्रमा शेर्पाले पुर्याएको योगदानको उच्च कदर राज्यले गर्नैपर्छ ।