अन्नपूर्ण पदमार्गमा ‘हालसम्मकै धेरै पर्यटक’

लमजुङ, माघ २८। सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ । सन् २०१८ मा अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा भन्दा २०१८ मा २ हजार ४ सय १२ पर्यटक बढी अन्नपूर्ण पदमार्ग आएका छन् ।

सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनाङले जनाएको छ । यो संख्या तथ्याङ्क राख्न थालिएको २२ वर्षको अबधीमा सबैभन्दा धेरै हो । सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । एक्याप मनाङका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ र सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए ।

सन् २०१६ मा भन्दा २०१७ मा २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो । भारतीय नाकाबन्दी र भूकम्पका कारण सन् २०१५ मा सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो । सशस्त्र द्वन्द्वको समय ३० प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो । पछिल्ला वर्षमा भने पर्यटक आगमन दर बढ्दै गएको एक्यापले जनाएको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा लमजुङ हुँदै मनाङतर्फ जाने पर्यटकको रेकर्ड एक्यापले राख्ने गरेको छ । एक्यापले सन् १९९६ देखि पर्यटकको तथ्यांक लिन थालेको हो ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।