मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ

मुस्ताङ,माघ २६। हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ ।

यो वर्षकै ठूलो हिमपात भएको जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारी भरतकुमार मैनालीले जानकारी दिए । हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् ।

जोमसोमको तापक्रम माइनस ८ डिग्री सेल्सियसबाट पनि तल झरेको बताइको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव निरीक्षक मदनबहादुर यादवका अनुसार भारी हिमपातका कारण यातायात सेवा ठप्प छ । स्थल मार्ग र हवाइ उडान अवरुद्ध भएको उनले जानकारी दिए ।