प्रचारप्रसारको अभावमा गुमनाम जगन्नाथ धाम

म्याग्दी,माघ २२।म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा अवस्थित जगन्नाथ मन्दिर धार्मिक र पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ३ घण्टा पैदल र यातयातका साधनमार्फत १ घण्टामा नै पुग्न सकिने प्यागोडा शैलीको सो मन्दिरमा भगवान जगन्नाथको प्रस्थर मुर्ति राखिएको छ । राता अक्षता नचढ्ने सो मन्दिरमा वेसार मिसाएर पहेंला अक्षताले पुजा गर्ने गरिन्छ ।
भगवान जगन्नाथको मन्दिरका कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन हुँदैन । विगतमा कुखुरा पालेका र रक्सी बनाउने मानिसहरुको उठिबास लागेको हुँदा कुखुरा र मदिरा उत्पादन नहुने स्थानीयको अनुभव छ । जगन्नाथलाई कुखुरा पालेको र मदिरा उत्पादन गरेको मन नपर्ने हुँदा गाउँभरी नै त्यसको व्यापार नहुने स्थानीयले बताएका छन् यहाँ दर्शन तथा पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

त्यसैगरी पर्यटकीय दृष्टिकोणले पनि जगन्नाथ मन्दिर निकै महत्वपूर्ण छ । यहाँबाट धौलागिरि,निलगिरि,माछापुच्छ«े लगाएतका एक दर्जन बढि हिमाल र म्याग्दीका साविकका ३६ वटै गाविसका गाउँहरु देख्न सकिने जनकल्याणमावि पुलाचौरका शिक्षक शिव वानियाँले बताउनुभयो । प्रसिद्ध गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्न सकेमा पनि धार्मिक पर्यटक बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने प्रशस्तै सम्भावनाहरु रहेका छन् ।
धार्मिक र पर्यटकीय दृष्टिकोणले यति महत्वपूर्ण हुँदाहुँदै पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा जगन्नाथ मन्दिर ओझेलमा परेकोमा स्थानीयले गुनासो गरेका छन् ।