ढापपोखरीमा पर्यटकको चहलपहल बढदो

इलाम,माघ २१।इलामको ढापपोखरीमा पर्यटकको चहलपहल बढेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको हो ।

५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थानका साथै सीमापारिको दार्जि्लिङबाट समेत पर्यटक पुग्न थालेका छन् ।

पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सीमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका ८ हजार माछाका भुरासमेत छाडेको छ । वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ।   दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो ।

४ वर्षअघि संरक्षण शुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालनसमेत भइरहेको छ । ‘डुङ्गा सञ्चालनपछि पर्यटकको आकर्षण थपिएको संस्थाका अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिनुभयोे । पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरासमेत आउन थालेका छन् ।