आन्दोलनरत मजदुरलाई वार्तामा आउन रेबानको आग्रह

काठमाडौँ,माघ २१ । होटल तथा रेष्टुरेण्टमा लिदैँ आईएको १० प्रतिशत सेवाशूल्क खारेजीको विरोधमा आन्दोलन गरिरहेका मजदुरलाई रेष्टुरेण्ट एण्ड बार एसोसिएसनले वार्तामा बोलाएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षाकोष र हालको श्रम ऐन अनुसार तलब भत्ता दिने प्रतिवद्धता जनाउँदा पनि मजदुरहरु आन्दोलनमा उत्रिनु अनावश्यक रहेको एसोसियसनले जनाएको छ । ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने भनिएपनि मजदुर संगठनले व्यवसायीहरुलाई नै धम्कीको वातावरण सिर्जना गरेको रेबानले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

सर्वोच्च अदालतले कारण देखाउ आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । महासचिव अरनिको राजभण्डारीले आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिइ यस उपभोक्तामुखी कार्यप्रति ऐक्यवद्ध हुन सम्बन्धित सबैमा अनुरोध गरेको जनाएका छन । रेबानले गत सोमबार १० प्रतिशत सेवाशूल्क खारेज गरेको थियो ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा मंगलबारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने कार्यक्रम तय गरेको छ ।