विमानस्थलको काम द्रुत गतिमा,फागुनसम्म कालोपत्र भइसक्ने

डोटी, माघ १७  । तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ ।

विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । छ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो ।

करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए।