दोलखा घुम्ने पर्यटकहरुलाई सास्ती,बास नपाएपछि सडकमै बस्न बाध्य

सुजन काफ्ले / दोलखा,पुस ३० । दोलखा घुम्न आएका हजारौं पर्यटकहरु होटलमा बास नपाएपछि अलपत्रमा परेका छन् । सदरमुकाम चरिकोट आसपास र कुरिका होटलहरु पनि खचाखच भरिएपछि पर्यटकहरु अलपत्र परेका हुन् ।

कालिन्चोक तथा भिमेश्वर दर्शनको लागि बाहिरी जिल्लाबाट शुक्रबार र शनिवार ठुलो सङ्ख्यामा पर्यटकहरु आएका थिए तर होटल अभावमा कतिपय पर्यटकहरु बसमै बस्न बाध्य भएको र बाकी रहेका पनि रातको समयमा बजार घुमिरहेको स्थानीयहरुले बताएका छन ।
चरिकोट आसपासमा साना ठुला गरि १ सय ६५ ओटा होटलहरु रहेको र सबै होटल हरुमा गरि लगभग ३५ सय पर्यटक अट्न सक्ने होटल ब्यवसायीहरुको भनाइ रहेको छ ।

कालिन्चोकमा हिउँ पर्न सुरु भएसगै पर्यटक हरुको चाप बढ्दै गएको छ । कालिन्चोक कुरि बजारका होटलहरु भरिएपछी करिब ३ सय पर्यटकहरुलाइ राती नै सदरमुकाम फिर्ता पठाइएको थियो । चरिकोटमा होटल अभाव हुनाले बाँस बस्न कै लागि जिरी सम्म पुग्न बाध्य भएको पर्यटकहरुले गुनासो गरेका छ्न ।

दोलखा उद्योग बाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्की लगायत केही स्थानीय हरुको पहलमा करीव ५ सय पर्यटकलाई आफ्नो घरको पाहुना कक्षमा बास दिएको स्थानीयहरुले बताएका छन ।