हिउँ खेल्न जाने होइन दामन , कसरी जाने ?

मकवानपुर,पुस २३  । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको हाे ।

थानकोट, नौबिसे हुँदै ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ भने चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ४ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्नकाे लागी भ्यूटावर पनि छ ।

राजधानीका साथै देशका विभिन्न ठाउँबाट हिउँकाे अनुभव लिन दामन आउने गरिन्छ । दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा दामन पुग्ने गरिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गबाट पनि दामन पुग्न सकिन्छ ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । पालुङमा होमस्टे सुविधा पनि छन् । थाहा नगरपालिकामा पर्नेे दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु आउँछन् । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्वालीले छाएका परम्परागत बस्तीहरु देख्न सकिन्छ ।