सौराहामा जारी हात्ती महोत्सबमा आज हात्तीहरुको पिकनिक

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५
  • Tourism Sanchar

चितवन, पौष १२। चितवनको पर्यटकीय स्थल सौराहामा जारी ‘१५ औं चितवन हात्ती महोत्सव’ अन्तर्गत आज हात्तीहरुको पिकनिक (बनभोज) गरिएको छ । बाघमारा मध्यवर्ती वनको चौरमा जारी महोत्सवमा ७९ हात्तीहरुलाई मनपर्ने परिकार खुवाएर पिकनिक गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका १८ र सौराहाका ब्यवसायीका ६१ वटा हात्ती बनभोजमा सहभागी थिए । आज हात्तीलाई सफारीमा नपठाई सामूहिक रूपमा भोजन गराइएको हो । सयौंको संख्यामा हात्ती महोत्सव हेर्न आएका दर्शकले निकै रमाइलोसंग हात्तीहरुको बनभोज कार्यक्रम हेरेका थिए ।

यस्तै आज हात्ती बाथिङ प्रतियोगिता समेत सम्पन्न भएको छ । बाथिङ प्रतियोगितामा पुजाकली प्रथम, गुलाबकली दित्तिय र बसन्तीकली तृतिय भएका छन् । बाथिङ प्रतियोगितामा पाँच हात्तीको सहभागीता रहेको थियो । आजै एनआरएन हंङकङ र युनाइटेड हात्ती सहकारी संघबीच मैत्रीपूर्ण हात्तीपोलो खेल सम्पन्न भएको छ ।

महोत्सवमा भोली हात्तीको छावाको फुटबल प्रतियोगिता,हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहेको छ।