पुस १७ वाट ‘थारु घरवास गाउँ भादा महोत्सव–२०७५’ शुरु

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५
  • Tourism Sanchar

धनगढी,पौष १४। थारु समुदायको कला संस्कृति, परम्परा, भेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ । यस वर्ष यही पुस १७ गतेवाट ‘थारु घरवास गाउँ भादा महोत्सव–२०७५’ शुरु हुन लागेको छ । ‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति वेषभूषा हमार पहिचान’ अर्थात संरक्षण सम्बद्र्धनका लागि सबै जनाले गर्नुपर्छ काम, संस्कृति वेषभूषा हाम्रो पहिचान भन्ने मूलनाराका साथ सो महोत्सवको आयोजना गर्न लागिएको हो ।

शतप्रतिशत थारु चौधरी समुदायको बसोवास रहेको उक्त गाउँमा वर्षेनी भादा घरवास कार्यक्रम सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो । थारुहरुको परम्परागत रहनसहन, वेषभूषा, खानपान, कला संस्कृति नै भादा घरवास कार्यक्रमको विशेष आकर्षक पक्ष हो।

घरवास सञ्चालनपछि आयआर्जनमा समेत वृद्धि भई स्थानीयवासीको आर्थिक जीवनमा परिवर्तन हुन थालेको छ । कृषि पेशा गरिरहेका भादा गाउँका बासिन्दा कतिपयले घरवास सञ्चालनको प्रभावपछि बाँसका चोयाबाट डोको, नाम्लो, डालो लगायतका सामग्री तयार पारेर बिक्री समेत गर्न थालेका छन् । घरवास सञ्चालनका समयमा अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग सम्बन्धित सेवा सुविधा उपलब्ध गराउने गरिएको छ । घरवास कार्यक्रम सञ्चालनवाट स्थानीयस्तरमा स्वरोजगारको अवसर सिर्जना हुने, थारु सामुदायिक भादा गाउँको प्रचारप्रसार हुने, हरेक जातजाती तथा देश विदेशका नागरिकबीच सद्भाव कायम राख्न मद्दत समेत पुर्याउने विश्वास गरिएको छ ।