फेवाताल किनारामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा, पर्यटक लक्षित कार्यक्रममा जोड दिइने

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५
  • Tourism Sanchar

पोखरा, पुस ११ । पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल (रेवान) पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । फेवाताल किनारामा रेवानले सो महोत्सव गर्दै आएको छ ।

पोखरा सडक महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिचान जस्तै बनिसकेको बताउँदै महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेलले लेकसाइडको तीन किमी क्षेत्रलाई समेटेर ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गते (डिसेम्बर २८ देखि जनवरी १) सम्म महोत्सव गर्न लागिएको बताए ।

महोत्वसका क्रममा रु एक करोड ५० लाख आम्दानी एवं रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै अध्यक्ष भुजेलले बचत रकम सामाजिक सेवा, पर्यटकीय विकास लगायतका क्षेत्रमा खर्च गरिने बताए ।

पर्यटकलाई लक्षित गरी प्रभावकारी सुरक्षाका लागि २४ वटा नाइटभिजन सिसी क्यामरा र सडक लाइटको व्यवस्थाका साथै पोखरामा रात्रिकालीन बस सेवासमेत उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइएको थियो ।