ऐतिहासिकता झल्काउँछौ,आधुनिकता टल्काउँछौ- मन्त्री अधिकारी

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५
  • Tourism Sanchar

भुवनराज उप्रेती,काठमाडौं,पौष ११। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सन २०३० को दसकसम्ममा मुलुकको पर्यटन उद्योगको चौतर्फी विकास गर्दै मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन उद्योगको योगदानलाई पहिलो नम्बरमा ल्याईपुर्याउने बताउनुभएको छ।मुलुकमा पर्यटन उद्योग सबैभन्दा सम्भावना बोकेको उद्योग भएको कुरा जिकिर गर्दै उहाँले पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समृद्धिको खाका कोर्न सरकार कटिबद्ध भएर लागिपरेको बताउनुभयो।
नेपाल पर्यटन पत्रकार महासंघले प्रकाशनमा ल्याउन लागेको मासिक पर्यटन पत्रिका ‘नेपाल गन्तव्य’ को नेगा टुर,राउण्ड टेबल सेसनमा पर्यटन पत्रकारसंग अन्तर्कृया गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
मुख्य पर्यटकीय स्थलहरुमा केन्द्रित होटल,रिसोर्टहरुलाई नयाँ गन्तव्यहरुको पहिचान गर्दै उक्त स्थानहरूमा समेत विस्तार गर्न निजि क्षेत्रहरुसंग सहकार्य गर्दै गन्तव्यसहितको पुर्वाधारहरु विकास गर्ने कार्य अघि बढाईएको उहाँले बतानुभयो।
पर्यटन आफैंमा अन्तरसम्बन्धित क्षेत्र भएको कुरा औल्याउँदै उहाँले आवश्यक पुर्वाधार विकास गर्न मातहतका सबै मन्त्रालयसंग सहकार्य गरि अघि बढ्ने बताउनुभयो।
सम्पदाहरुको पुननिर्माणमा सरकार गम्भीर भएर लागेको बताउदै उहाँले बाकी सम्पदाहरुको पुननिर्माण जतिसक्दो चाडो सकिने जानकारी दिनुभयो।
दस लाख पर्यटक भित्र्याउनै गरि पुर्वाधारहरु विकास हुनु आफैंमा सकारात्मक उपलब्धि भएको बताउदै मन्त्री अधिकारीले २०२० देखि २०३० सम्मको दशकलाई पर्यटन दशकको रुपमा मनाईने उद्घोष गर्नुभयो।
कुल ग्राहस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान १० प्रतिशत पुर्याउने सरकारको पञ्चबर्षिय लक्ष्य सो अवधीभन्दा अगावै हासिल हुनसक्ने सकारात्मक सूचकांक प्राप्त भएको कुरा जोड्दै सन २०३० सम्ममा पर्यटन उद्योगलाई रोजगारी,आय र कुल ग्राहस्थ उत्पादनका हिसाबले पहिलो नम्बरमा ल्याईपुर्याउने समेत दावी गर्नुभयो।
पर्यटन क्षेत्रमा महिला उद्यमीहरूलाई प्रोत्साहित गर्न महिला लक्षित क्षमता अभिवृद्धि तालिम,उद्यमको वातावरण सिर्जना गर्नेगरी सहुलियतका कार्यक्रम आदि ल्याईने मन्त्री अधिकारीले बताउनुभयो।
‘पर्यटन सौहार्दता,आतिथ्यता प्रकट गर्ने क्षेत्र हो,यसमा कुसल व्यवस्थापन अपरिहार्य हुन्छ।महिलाहरु समाजका ऎना हुन जसले समाजको चित्रण गरेका हुन्छन त्यसकारण उहाँहरुलाई उद्यमको क्षेत्रमा विशेष प्रोत्साहन रहनेछ।’मन्त्री अधिकारीले थप्नुभयो।
होमस्टे अर्थात घरबासजस्ता कार्यक्रमहरुले स्वरोजगारको वातावरणमात्र सिर्जना नगरी महिलाहरूको व्यक्तित्व विकासमा समेत सकारात्मक भुमिका खेल्ने उहाँले बताउनुभयो।
पर्यटनका क्षेत्रमा भएका रचनात्मक प्रयासहरुबारे कुरा गर्दै उहाँले बुटिक एयरपोर्ट,डिजिटालाईजेसनजस्ता अवधारणामा सरकारले काम गरिरहेको बताउनुभयो। ‘ऎतिहासिकता टल्कने,आधुनिकता झल्कने’गरि ल्याईएको बुटिक एअरपोर्टको अवधारणाले पर्यटकलाई थप लोभ्याउसक्ने उहाँले बताउनुभयो।
पर्यटन उद्योगमा सबै नागरिकहरु प्रत्यक्ष र परोक्ष रुपमा जोडिएकाले आ-आफ्नो स्थानबाट सबैले योगदान दिनुपर्ने कुरा औल्याउँदै उहाँले सम्पुर्ण निजि क्षेत्र,उद्यमी,व्यवसायी,लगानीकर्ता,पत्रकार,स्थानीय निकाय,आमजनतालाई सरकारसंगै सहकार्य गरि अघिबढ्न आग्रहसमेत गर्नुभयो।

सरकारले सन २०२० मा मनाउन लागेको नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।