‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारी,कार्यक्रम उपत्यकाव्यापी बनाउन नागरिकको आग्रह

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५
  • Tourism Sanchar

काठमाडौँ,  पुस ९ । गत पुस १ गतेदेखि शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट ट्राफिक जाम कम भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट लगायतका स्थानमा शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी हुँदा यात्रु र चालक दुवैलाई फाइदा पुगेको छ ।

महानगरपालिकाका अनुसार काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको हो ।

कार्यक्रम प्रभावकारी हुँदा जमल, त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटी लगायतका स्थानमा सवारी जाम नभएको पनि महानगरको भनाइ छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।

पूर्णरूपमा यस कार्यक्रम प्रभावकारी बनाउन महानगरले केही स्थानमा मात्रै नभई कामपाको अन्य स्थान र अरु नगरपालिका र महानगरको सहकार्यमा  काठमाडौँ उपत्यकाभरि नै फैलाउन पर्ने यात्रुको भनाइ छ ।