‘नेपाली टोपी,हाम्रो गौरव-हाम्रो पहिचान’ नारासहित जनवरी १ मा टोपी दिवस मनाईदै

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

काठमाडौँ,पुस ८ । जागरुक युवा अभियान नेपालले छैटौं नेपाल टोपी दिवस भव्यताका साथ मनाउने भएको छ। अभियानले आज विज्ञप्ति जारी गर्दै ‘नेपाली टोपी,हाम्रो गौरव-हाम्रो पहिचान’ भन्ने नारासहित जनवरी १ अर्थात पौष २७ गते माईतीघर मण्डलाबाट प्रभातफेरी गर्दै विविध कार्यक्रमसहित टोपी दिवस मनाउने जनाएको छ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ”– विज्ञप्तिमा भनिएको छ ।

अभियानले प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ ।