काठमाडौँलाइ सफा र सुन्दर बनाउन मिडियाको सहयोग अपरिहार्य : मेयर शाक्य

काठमाडौँ शाखाले अव प्रत्येक शनिवार शहर सफाई अभियान सुरु गर्छ : पौडेल

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

टुरिजम संचार संवाददाता / काठमाडौँ,पुस ८ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक सम्पत्तीको संरक्षण र सम्वर्द्धनमा आम नागरिकको दायित्व र जवाफदेहीता भए काठमाडौँ सुन्दर शहर बन्न समय नलाग्ने बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्मा ‘ऋतुविचार’ नेतृत्वको टोलीसंग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै मेयर शाक्यले नागरिक र मिडियाको सकारात्मक साथ पाए महानगरलाई सफा सुन्दर बनाउन सकिने दावी गरे ।

मेयर शाक्यले सुन्दर, सफा र सभ्य काठमाडौँ बनाउने आफ्नो अभियानमा सबैको साथ् र सहयोग जरुरि रहेको बताए । शहर सुन्दर राख्न पुरस्कार र दण्डको व्यवस्था गरेपनि प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले आमनागरिकले अपनत्व नलिएसम्म सुन्दर बनाउन कठिन हुने बताए । सबैको सहयोग रहे काठमाडौँले छिट्टै सुन्दर शहरको रुप लिने भन्दै उनले सकारात्मक सोचका साथ हातेमालो गर्न सबैलाई आग्रह गरे ।

मेयर एक्लैको प्रयासले मात्र सबै काम गर्ने नसकिने भन्दै उनले राजनीतक दल, व्यवसायी, बुद्धिजिबी, पत्रकार र आमजनताको सहयोग आवश्यक रहेको बताए ।
आफूलाई असफल बनाउन विभिन्न कोणबाट असहयोग भएको जनाउंदै काम गर्न नसके मेयर असफल हुने तर जनताको विकास र सम्मृद्धिको चाहाना असफल नहुने प्रष्ट पारे । ‘कतिपयलाई लाग्दो हो, मेयरलाइ असफल बनाउन सके हुन्थ्यो, तर मेयर असफल भए पनि काठमाडौँको विकास असफल हुँदैन’ उनले भने ।

जथाभावी पार्किङ र निर्माण सामाग्री जहाँतही झार्ने गर्नाले सडक जामदेखि अन्य समस्या देखिएको भन्दै उनले महानगरले सुव्यवस्थित शहर बनाउन पर्यटन पत्रकार महासंघसंग महानगरले हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे । कम्तीमा भएका सकारात्मक काम र हुन नसकेका दुर्वल कामको आम नागरिकमा सन्देश मिडियो प्रवाह गर्नेमा आफू आश्वस्त रहेको प्रमुख शाक्यको भनाई छ ।

शहरका बिभिन्न ठाउँहरुमा टाँसिएका पोस्टर, पम्पेल्ट, ब्यानर लगाएतले समेत शहरी सुन्दरतामा चुनौती थपेको भन्दै मेयर शाक्यले त्यस्ता पोस्टरहरु हटाउन महानगरले अभियान सुरु गरिसकेको जानकारी दिए । महानगरको यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अटेर गरेर पोस्टर टाँसे कारवाही गरिने बताए ।

मुलुकको राजधानी काठमाडौको सौन्दर्यतालाई पुर्नजागरण गर्न संरक्षण सम्वर्द्धन अभियान संचालन गर्न लागेको महासंघका अध्यक्ष धनिराम शर्माले बताए । ‘सुन्दर शहर मेरो रहर’ भन्ने नाराका साथ उपत्यकाका तीनै शहरको सौन्दर्यतालाई जोगाउन आम नागरिकमा सामाजिक जागरण ल्याउन कार्यक्रमको शुभारम्भ हुन लागेको उनले बताए । पर्यटन पत्रकार महासंघबाट आयोजित अतिथि देवो भवः राष्ट्रिय अभियानलाई सफल बनाउन सरसफाई अभियानलाई समेत जोड दिएको अध्यक्ष शर्माले जानकारी दिए ।

महासंघले पाँचौ स्थापना दिवसको अवसरमा सुन्दर शहर मेरो रहर भन्ने नाराका साथ उपत्यकाका दुई महानगर र अन्य नगरमा सरसफाईको कार्यक्रम आयोजना गर्दैछ । महासंघ जिल्ला शाखा काठमाडौँले स्थापना दिवसको अवसर पारेर सरसफाई अभियान आरम्भ गर्ने भएको हो । शहर सफा राख्न महासंघ काठमाडौ शाखाले प्रत्येक शनिबार सरसफाईको कार्ययोजना बनाएको महासंघ काठमाडौ शाखाका अध्यक्ष जिपी पौडेलले बताए । महासंघले यही पौष १५ र १६ गते स्थापना दिवस मनाउदै छ ।