रानिमहल लाई आकर्षक बनाइदै

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५
  • Tourism Sanchar

पाल्पा,पौष ७। नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको हो।

खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ।कालीगण्डकी नदी किनारमा पत्थरबाट ठड्याएर उक्त दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् ।

दरबार ५६ फिट चौडा, ११२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको हो । महल जीर्ण भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रु दुई करोड ७२ लाख ३७ हजार २४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो ।