हेर्नु पर्ने ऐतिहासिक नुवाकोटको सात तले दरबार

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५
  • Tourism Sanchar

नूवाकोट, पौष ६। शहरको भिडभाड, धूँवा-धुलो पन्छाएर सितल र स्वच्छ वायुमा रमाउनेहरुका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौंसँगै जोडिएको यो जिल्लाले शहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौं पुरानो शिल्पकलाको नजिक पनि पुर्‍याउँछ ।

विडम्बना त के भने प्राचिन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइनेछैन । यहाँको साततले दरबार अब जिर्ण मात्र होइन, करिव ध्वस्त भइसकेको अवस्थामा देख्नुपर्नेछ । साततले दरबार मात्र होइन अरु थुप्रै प्राचिन सम्पदा त्यही हालतमा छ, जो हेर्दा मन कुँडिन्छ ।

पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गर्नुअघि निकै शक्तिशाली राज्यका रुपले चिनिएको नुवाकोट इतिहासका विद्यार्थीहरुको खुल्ला संग्रहालय हो ।नुवाकोट दरबार परिसरमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचिन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएका यी संरचनाको जिर्णोद्वार गर्न अत्यावश्यक भइसकेको छ ।